
कोराना महामारीभन्दा अगाडि नै निर्माण भएको फिल्म हो, ‘माया बस्छ कि के हो !’ नेपालदेखि स्वीजरल्याण्डसम्म छायांकन भएको फिल्म टिमभित्रको असमझदारीका कारण ७ वर्षसम्म ‘हार्ड डिस्क’मै थन्किएर बस्यो । अब भने असोज २ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट सोनाल लामा र कस्मता निरौलाले डेब्यू गरेका छन् ।
कस्मता अमेरिका भएकाले यतिबेला फिल्मको प्रचारमा सोनाल एक्लै छन् । ७ वर्षअघि ठूलो सपना देखेर काम गरेको फिल्म प्रदर्शनको संघारमा हुँदा आफूमा डर र उत्साह दुवै रहेको उनी बताउँछन् । हालै पत्रकार भेटघाटमा उनले भने, ‘यो मेरो पहिलो फिल्म हो । आफूले सक्ने मेहनत त गरेको छु । तर, दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने कुराले मनमा उत्साह र डर दुवै छ ।’
‘माया बस्छ कि के हो !’पछि सोनालले एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । तर, त्यसबाट उनी सन्तुष्ट छैनन् । यसैले अब फिल्ममै अगाडि बढ्ने उनको योजना छ । उनी भन्छन्, ‘म नेपाली फिल्म इन्डस्ट्रीकै लागि बनेको हुँ जस्तो लाग्छ । मलाई यो इन्डस्ट्रीको एकदमै माया लाग्छ । यसैले अब आफूलाई निखार्दै राम्रा फिल्ममा काम गर्नेछु ।’
उनी आफूलाई स्टार बन्न हतार नभएको पनि बताउँछन् । भन्छन्, ‘मलाई स्टार बन्न हतार छैन । राम्रो कलाकार भएर लामो यात्रा गर्न मन छ । त्यसका लागि मेहनत पनि गरिरहेको छु । ‘माया बस्छ कि के हो !’मा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्नेछु ।’ उनले आफू सौगात मल्ल र अनमोल केसीबाट प्रभावित रहेको पनि बताएका छन् ।
राजु अधिकारीको निर्देशनमा बनेको यस फिल्ममा सोनाल र कस्मतासहित नरेन्द्र थापा, उपेन्द्र थापा, हरिकृष्ण कार्की, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, तेजेन्द्र कँडेल, ऋचा थापा, खिन्नबहादुर भण्डारी, करुणा थापा, जेपी पाण्डे, रामजी राउतलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा शरद अधिकारी प्रस्तुतकर्ता तथा बहादुर सिंह तामाङ निर्मातामा छन् ।

