Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हनुमान अंश’पछि बलिउडमा भक्ति फिल्मको बाढी

फिल्मीखबर, काठमाडौं, 2026/09/16

hanuman-ansh

 

भारतका हिन्दू सन्त तथा आध्यात्मिक गुरु नीम करोली बाबाको जीवनबाट प्रेरित फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा ठूलो व्यावसायिक सफलता हासिल गरेपछि यतिबेला बलिउडमा धार्मिक र भक्तिप्रधान फिल्म निर्माणको लहर सुरु भएको छ । केही समयमै सन्त र हिन्दू गुरुहरूको जीवनमा आधारित थुप्रै फिल्मको घोषणा भइसकेका छन् ।

‘हनुमान अंश’को सफलतापछि यही फिल्मको दोस्रो भाग निर्माण हुँदैछ भने यसका निर्देशक विशाल चतुर्वेदीले हिन्दू सन्त तथा कवि गोस्वामी तुलसीदासको जीवनमा फिल्म ‘राम बोला’ बनाउने घोषणा गरेका छन् । अझ रोचक कुरा के छ भने, यही नाममा अर्को फिल्म पनि निर्माण हुने भएको छ । निर्देशक चन्द्रप्रकाश द्विवेदीले तुलसीदासकै कथामा फिल्म बनाउन लागेका हुन् ।

कलियुगमा भगवान् श्रीकृष्णका अवतार मानिने खाटु श्याम बाबामाथि पनि फिल्म निर्माण हुँदैछ । अबन्डेन्टिया इन्टरटेनमेन्टले निर्माण गर्ने यो फिल्मलाई २०२७ मा रिलिज गर्ने लक्ष्य राखिएको छ । महाकाव्य रामायणमा आधारित ‘महाकाव्य श्री रामायण कथा’ नाममा पनि एक फिल्म निर्माण भएको छ, जुन २५ सेप्टेम्बर (२०२६)मा रिलिज हुँदैछ ।

भारतीय आध्यात्मिक गुरु तथा सन्त साई बाबाको जीवनमा समेत फिल्म निर्माण भएको छ । अर्को वर्ष रिलिज हुने फिल्म ‘तेरा साई’मा साई बाबाको भूमिका सञ्जय मिश्राले निर्वाह गरेका छन् । सन् २०२७ मा अर्को धार्मिक फिल्म ‘महावतार परशुराम’ पनि प्रदर्शन हुँदैछ । केही समयअघि फिल्म ‘श्रीमद्भागवतम्’को पनि घोषणा भएको थियो, जुन सात भागमा निर्माण हुने जनाइएको छ ।

करिब एक दशकयता बलिउडमा एक्सन फिल्म निर्माणको लहर चलेको थियो । ‘जवान’, ‘एनिमल’, ‘धुरन्धर’ जस्ता फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि एक्सन फिल्मको बाढी नै आयो । तर, अब ‘हनुमान अंश’पछि बलिउडमा धार्मिक फिल्मको युग सुरु भएको देखिन्छ । यतिबेला धार्मिक फिल्ममा सर्वाधिक प्रतीक्षा भने फिल्म ‘रावायण’को भइरहेको छ ।