यसपालिको हरितालिका तीजमा सर्वाधिक घन्किने गीतमध्ये एक बन्यो, ‘धागो छिन्यो चर्खाको ।’ फिल्म ‘झिँगेदाउ २’मा समावेश यो गीतलाई युट्युब रिलिजको १२ दिनमा झन्डै ५० लाखले हेरिसकेका छन् । सोमबार तीजको दिन मात्रै गीतमा ५ लाखभन्दा बढी भ्यूज थपियो । गीतमाथि टिकटक, रिल्स र शर्ट्स पनि हजारौँको संख्यामा बनेका छन् ।
फिल्मको तीज गीत हिट भएसँगै निर्माण पक्षले मंगलबार नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारको स्वर छ । दशैंको माहोललाई समेटिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्ट देखिएका छन् ।
संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।

