Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पार्वती’को व्यापार २ करोड पार, ‘तिनीहरू’ ९० लाख नजिक

फिल्मीखबर, काठमाडौं, 2026/09/14

box office

 

रसुवा बाढीका कारण सिर्जित विषम परिस्थितिका बीच भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरेको छ । पहिलो १० दिनमा डेढ करोडको आँकडा पार गरेको फिल्मले पछिल्लो सात दिनमा ४६ लाखभन्दा बढीको व्यापार गरेको चलचित्र विकास बोर्डको सिनेपाः विवरणमा देखिएको छ ।

सोमबार सार्वजनिक बोर्डको विवरणअनुसार फिल्मले २८ भदौ (आइतबार)सम्म २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ । सो अवधिसम्म फिल्मका ७३ हजार २२३ वटा टिकट बिक्री भएका छन् । यस वर्ष ‘परालको आगो’, ‘लालीबजार’ र ‘गौँथली’पछि २ करोडको आँकडा पार गर्ने यो चौथो फिल्म हो । अहिले तेस्रो हप्तामा फिल्म प्रदर्शन भइरहेको छ । 

बोर्डले सार्वजनिक गरेको कमाइ विवरणमा भदौ १९ गतेबाट प्रदर्शनमा आएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले भने पहिलो १० दिनमा ८५ लाख ९५ हजार ९१० रुपैयाँ ग्रस कमाएको छ । यो नेपाली फिल्मतर्फ भदौ महिनाको दोस्रो ठूलो कमाइ हो । फिल्मका आइतबारसम्म २४ हजार ४८३ वटा टिकट बिक्री भएका छन् । 

सर्वकालीन ब्लकबस्टर फिल्म ‘गौँथली’को व्यापार भने २६ करोड नजिक पुगेको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले ५९ दिनमा २५ करोड ९३ लाख ७४ हजार ७५० रुपैयाँ ग्रस कमाइ गरेको बोर्डको तथ्यांकमा देखिन्छ । २८ भदौसम्म ९ लाख ४० हजार ५६२ जनाले फिल्म हेरिसकेका छन् । यो नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनिसकेको छ ।