
अभिनेता सारुक ताम्राकारको निधन भएपछि निर्माणकै क्रममा रोकिएको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ तीन वर्षपछि नयाँ फिल्म ‘आशा’मार्फत निर्देशनमा फर्किने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गर्दै आगामी माघ १ गते (माघे संक्रान्ति)लाई प्रदर्शन मिति पनि तय गरियो ।
नेपाली कांग्रेसकी मधेस प्रदेश कार्यसमिति सदस्य शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्ममा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्ममा महेश र अञ्जनाको जोडी बाँधिनेछ । यसअघि उनीहरूले फिल्म ‘परान’मा एकसाथ काम गरेका थिए ।
निर्देशक गुरुङ स्वयंको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउण्ड डिजाइन रहनेछ । यसमा सह-लेखन रामकुमार श्रेष्ठको रहेको छ भने कलाकार चयन सुदाम सिकेले गरेका हुन् । फिल्मको पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् ।
फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक गुरुङले ‘आशा’ मनोरञ्जन र सन्देशले भरिएको फिल्म हुने बताए । उनले भने, ‘यो एउटा परिवारको कथा हो । यो कथालाई पर्दामार्फत दर्शकसामु लैजानुपर्छ भन्ने सोचले फिल्म बनाउन लागेका हौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुनेछ । यसले दिने सन्देश एकदमै महत्त्वपूर्ण र सान्दर्भिक छ ।’
त्यस्तै, महेश त्रिपाठीले फिल्मको विषयवस्तुले आकर्षित गरेर फिल्ममा जोडिएको बताए । उनले भने, ‘यसको कथा बनिरहेका फिल्मको भन्दा फरक छ । एउटा अभिनेतालाई राम्रो कथामा काम गर्ने लोभ सधैं हुन्छ, त्यसैले यसमा जोडिएको हुँ । यो फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिनेछ ।’ उनले ‘परान’पछि अञ्जनासँग फेरि सहकार्य गर्न पाउँदा खुसी लागेको पनि बताए ।

