Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करण जोहरले ३५० करोडमा लिए ‘रामायण’को वितरण अधिकार

एजेन्सी, काठमाडौं, 2026/07/09

Ramayana - Karan Johar

 

‘दंगल’ निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको नयाँ फिल्म ‘रामायण’ सन् २०२६ को सबैभन्दा बहुप्रतीक्षित भारतीय फिल्म हो । आइएमडीबीको ‘मोस्ट एन्टिसिपेटेड इन्डियन मुभिज’को सूचीमा समेत पहिलो स्थानमा परेको यो फिल्मको पहिलो भाग तिहारमा प्रदर्शन हुँदैछ । फिल्मले भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने अनुमान गरिएको छ । 

‘रामायण’को क्रेजलाई मध्यनजर गर्दै भारतीय निर्माता तथा निर्देशक करण जोहरको कम्पनी धर्मा प्रोडक्सन्सले केही दिनअघि मात्र फिल्मको भारतभरको वितरण अधिकार खरिद गरेको बलिउड हंगामाले जनाएको छ । यसअघि २५० करोड भारुमा धर्माले फिल्मको वितरण अधिकार लिएको खबर बाहिरिएको भए पनि वास्तविक सम्झौताको रकम त्योभन्दा बढी रहेको खुलेको छ । 

बलिउड हंगामाका अनुसार फिल्मको हिन्दी वितरण अधिकार धर्माले ३५० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । यो भारतीय फिल्म इतिहासकै सबैभन्दा ठूलो थिएटर वितरण सम्झौता भएको बताइएको छ । यसअघि सबैभन्दा महँगोमा फिल्म ‘किङ’को थिएटर वितरण अधिकार बिक्री भएको थियो, जसलाई पेन मरुधर कम्पनीले २५० करोड भारुमा खरिद गरेको छ । 

भारतमा वितरक कम्पनीले ‘मिनिमम ग्यारेन्टी’ (एमजी)को मोडलमा फिल्मको वितरण अधिकार लिने गरेका छन् । यसअन्तर्गत वितरकले निर्मातालाई पहिले नै निश्चित रकम (जस्तै ३५० करोड) तिर्छन् । त्यसपछि वितरकले हलबाट भएको आम्दानीबाट पहिले आफ्नो लगानी, खर्च र कमिसन उठाउँछन् । त्यसपछि सम्झौताअनुसार नाफाको रकम वितरक र निर्माताबीच बाँडिन्छ ।

‘रामायण’मा रणवीर कपूरले भगवान् रामको भूमिकामा अभिनय गरेका छन् । सीताको भूमिकामा साई पल्लवी छिन् । हनुमानको भूमिका सनी देओलले निभाएका छन् भने रावणको चरित्रमा साउथ सुपरस्टार यशले अभिनय गरेका छन् । लक्ष्मणको भूमिकामा रवि दुबेलाई देख्न सकिनेछ । यो विशाल ‘स्टारकास्ट’का कारण दर्शकमाझ फिल्मको पर्खाइ ठूलो देखिन्छ ।