Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपसँगको सम्बन्धबारे सन्तोष भन्छन्, ‘हाम्रो आत्मीयता सधैं रहन्छ’

फिल्मीखबर, काठमाडौं, 2026/07/07

Santosh Sen

 

कुनै बेला निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काको मित्रतालाई उदाहरणको रूपमा लिइन्थ्यो । दुवै एकअर्काका परिपूरकजस्ता थिए । ‘प्रेमगीत’देखि यसको तेस्रो श्रृंखलासम्म उनीहरूबीच फिल्ममा निरन्तर सहकार्य भयो । तर, ‘प्रेमगीत ३’ प्रदर्शनपछि दुवै दुई ध्रुवझैँ देखिए । फिल्मको आर्थिक विषयलाई लिएर उनीहरूबीच तिक्तता उत्पन्न भएको बताइन्छ ।

तर, सन्तोषले प्रदीपसँग सम्बन्ध चिसिएको भन्ने हल्लाको खण्डन गरेका छन् । सोमबार साँझ प्रदीपसँगको एक भेटको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले आफूहरू सधैंभरि साथमा रहने बताएका छन् । प्रदीपसँगको आफ्नो सम्बन्ध कामले मात्र नभइ विश्वास, आत्मीयता र वर्षौंदेखिको यात्राले बनेको उनको भनाइ छ । 

प्रदीपलाई आफूले अरू ठाउँमा काम गर्न नदिएको भन्ने मनगढन्ते भाष्य बनाइएको भए पनि वास्तविकता फरक रहेको उनको दाबी छ । प्रदीप र आफूले बाहिरका टिमसँग २-३ वटा प्रोजेक्ट गरेको बताउँदै उनले त्यसलाई विभिन्न ढंगले बढाइचढाइ गरेर यताको उता र उताको यता जोड्दै बीचमा आफैं पर्खाल बन्ने र त्यसमै रमाउनेहरू रहेको उल्लेख गरेका छन् । 

उनले प्रदीप र आफूले जमिनबाट यात्रा सुरु गरेको बताउँदै अगाडि भनेका छन्, ‘हाम्रो यात्रा फरक छ । हामी जमिनबाटै सुरु गरेको मान्छे हौं । एउटै सिँढीमा सँगै पाइला टेक्दै आज यहाँसम्म आइपुगेका हौं । त्यसैले बाहिरबाट बनाइने हल्लाले हाम्रो सम्बन्धको उचाइ न त घटाउन सक्छ, न त बदल्न सक्छ । हामी हिजो पनि सँगै थियौं, आज पनि छौं र भोलि पनि रहनेछौं ।’ 

उनले प्रदीपसँग जुनसुकै बेला सँगै काम हुन सक्ने पनि उल्लेख गरेका छन् । उनी भन्छन्, ‘काम आज सँगै हुन सक्छ, भोलि छुट्टाछुट्टै पनि हुन सक्छ, वर्षौंसम्म सँगै नहुन पनि सक्छ । तर हाम्रो आत्मीयता जस्तो थियो, त्यस्तै छ र सधैं रहन्छ । पानी बाराबर भयो, सम्बन्ध बिग्रियो भन्ने  जस्ता कुरा चिया गफका मसला बन्न सक्छन्, तर वास्तविकतासँग यसको कुनै सम्बन्ध हुँदैन ।’

गत वर्ष प्रदर्शन भएको फिल्म ‘बलिदान’ले बक्स अफिसमा अपेक्षित व्यापार नगरेपछि निराश देखिएका सन्तोष यतिबेला आफ्नो सफल फ्रेन्चाइज ‘प्रेमगीत’को चौथो श्रृंखला निर्माणको तयारीमा जुटेको चर्चा छ । यस्तोमा उनको भेट प्रदीपसँग हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । निकट स्रोतका अनुसार ‘प्रेमगीत ४’मा प्रदीप दोहोरिने लगभग निश्चित छ ।