Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टक्सिक’को डरले सरेको हो प्रियंकाको ‘मास्टर्नी’ ?

फिल्मीखबर, काठमाडौं, 2026/07/03

Masterni

 

कन्नड भाषाको बहुप्रतिक्षीत फिल्म ‘टक्सिक’ भदौ १० गते प्रदर्शन हुने भएपछि त्यसले नेपाली फिल्मको रिलिज क्यालेन्डर नै प्रभावित बनाएको छ । यो फिल्मका कारण भदौ १२ गते प्रदर्शन हुन लागेका फिल्म तितरबितर हुन थालेका छन् । अभिनेत्री प्रियंका कार्कीको लगानी तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ समेत उक्त मितिबाट पछाडि हटेको छ । 

अब यो फिल्म ‘टक्सिक’भन्दा ५ दिन अगाडि हलमा लाग्ने भएको छ । शुक्रबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै भदौ ५ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको हो । यो मिति पनि फिल्मका लागि जोखिमपूर्ण नै देखिन्छ । कारण, ५ दिनपछि आउने ‘टक्सिक’ले अधिकांश शो आफ्नो पक्षमा तान्ने सम्भावना छ । त्यसको प्रत्यक्ष असर फिल्मको व्यापारमा पर्न सक्ने देखिन्छ ।

सार्वजनिक पोस्टरमा प्रियंका साडी लगाएर बाथटबमा सुतेको अवस्थामा देखिएकी छन् । उनको आँखा भने खुला छ । पोस्टरमा लेखिएको ‘सबैभन्दा शान्त देखिने व्यक्तिले नै खतरनाक खेल खेल्छ’ भन्ने वाक्यले प्रियंकाको पात्र हेर्दा सामान्य देखिए पनि चलाख रहेको संकेत गर्छ । फिल्म मर्डर मिस्ट्रीको कथामा आधारित हुनसक्ने पोस्टरबाट अनुमान लगाउन सकिन्छ । 

शुभेन्द्र घोषको निर्देशनमा बनेको यस फिल्ममा प्रियंकासहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।  

फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्मातामा सिमोस सुनुवार रहेका छन् । प्रियंका स्वयंको कथा रहेको फिल्मको पटकथा शान बस्नेतले तयार पारेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् । यो फिल्म नेपाली र भारतीय ८ भाषामा रिलिज हुने जनाइएको छ ।