
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुबा बन्ने भएका छन् । सविनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । उनले अनुसँगको एक तस्वीरसहित ‘मम्–ड्याड’ र ‘वी आर प्रेग्नेन्ट’ (हामी गर्भवती छौं) लेखिएको पोस्टर सेअर गर्दै यसलाई आफ्नो जीवनकै सबैभन्दा सुन्दर उपहार भनेका छन् ।
सविनले आफूहरू अभिभावक बन्न लागेको खबर सार्वजनिक गरेपछि दुवैलाई सामाजिक सञ्जालमा प्रशंसक र फिल्मकर्मीहरूबाट बधाईको ओइरो लागेको छ । गत वर्षको असोजमा विवाह बन्धनमा बाँधिएका उनीहरू त्यसअघि करिब ८ वर्ष प्रेम सम्बन्धमा थिए । बीचमा उनीहरूको एकपटक ब्रेकअप पनि भएको थियो ।
२०६८ सालमा होलीको फोटोसुटको क्रममा सविन र अनुबीच पहिलो पटक चिनजान भएको थियो । त्यसपछि मित्रता हुँदै उनीहरूको सम्बन्ध प्रेममा रुपान्तरण भयो । यो जोडीले ‘लक्ष्य’ र ‘आधी बाटो’ गरी दुईवटा फिल्ममा अभिनय समेत गरेका छन् । पछिल्लो समय उनीहरूले बनाउने रमाइलो शैलीको ‘भ्लग’ दर्शकले निकै रुचाएका छन् ।
कामको कुरा गर्दा यतिबेला सविन फिल्म ‘आ बाट आमा २’को छायांकनमा व्यस्त छन् । उनी चाँडै नयाँ फिल्म ‘कश्यप’मा पनि काम गर्ने तयारीमा छन् । अनुले भने फिल्ममा काम नगरेको २ वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘ईश्वर’मा देखिएकी थिइन् । एक समय फिल्म र म्युजिक भिडियोमा उनको माग निकै उच्च थियो ।

