
फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएका छन् । गत बुधबार पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्क गाउँमा फिल्मको एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा उनको दाहिने हातको जोर्नीमा चोट लागेको हो । त्यहाँ करिब १५ दिनदेखि फिल्मको छायांकन भइरहेको थियो ।
दुर्घटना लगत्तै विजयको कुश्मास्थित प्रदेश अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई पोखराको मेट्रो सिटी अस्पताल पुर्याएर ‘एक्स-रे’ गर्दा हातमा ‘फ्याक्चर’ देखिएको निर्देशक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबार विजयको हातमा ‘प्लास्टर’ गरिएको छ ।
विजयले कम्तीमा ४० दिन आराम गर्नुपर्ने चिकित्सकको सल्लाहपछि फिल्मको छायांकन तत्काललाई पूर्ण रूपमा रोकिएको छ । ३५ दिनको तालिकासहित जेठ १ गतेदेखि फिल्मको छायांकन सुरु गरिएको थियो । अब विजयको हातको ‘प्लास्टर’ खोलेपछि असार १५ गतेपछि फिल्मको बाँकी छायांकन सुरु गर्ने योजनामा निर्माण टिम रहेको छ ।
विजयले केही साताको आरामपछि आफू पुनः काममा फर्किने बताए । उनले भने, ‘काम गर्ने क्रममा अचानक दुर्घटना हुन पुग्यो । अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’ उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अन्य केही फिल्मको छायांकन तालिकामा पनि सामान्य हेरफेर हुन सक्ने बताए ।
सारङ्गी फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा विजयसहित अञ्जना बराइली, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गी, भोलाराज सापकोटा, लोकेन्द्र लेखकलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । विजय र अञ्जनाले यसअघि कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा सहकार्य गरेका थिए । उनीहरू दोस्रो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन् ।

