
चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित परिवारका पाँचै जना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
सोमवार जन्मदिन मनाइरहेका मदनकृष्णले कोरोना भएपछि सास्ती हुने बताएका छन् । उनले लेखेका छन्, ‘यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सर्तक रहनुहोला । बर्थडे विस गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’ कोरोना पुष्टि भएपछि उनी परिवारसँग घरमै आइसोलेसनमा बसेका छन् ।
मदनकृष्णले आफूसहित परिवारलाई कोरोना देखिएको बताएपछि सामाजिक सञ्जालमा फिल्मकर्मीदेखि शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् । गत वर्ष उनका मित्र हरिवंश आचार्यलाई पनि कोरोना भएको थियो । मदनकृष्ण श्रेष्ठ सोमवारबाट ७१ वर्षका भएका छन् ।

