
पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । दिनमै एक हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले विद्यालय, सिनेमा हल लगायतका क्षेत्रलाई बैशाख अन्तिमसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले सिनेमा हलबाहेक फिल्म क्षेत्रका अन्य गतिविधिमा भने प्रतिबन्ध लगाएको छैन ।
सरकारको निर्णयपछि सिनेमा घरहरु बन्द भए पनि छायांकनमा निस्कने फिल्मको संख्या बढ्दो छ । सोमवारबाट अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीको मुख्य भूमिका रहने फिल्म ‘बाबरी’ को पनि छायांकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो । ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले फिल्मको क्याप्टेनसिप सम्हालेका छन् ।
दुई साता पूर्वका विभिन्न स्थानमा छायांकनपछि निर्माण टिम सिक्किम प्रस्थान गर्ने तयारीमा छ । त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने फिल्ममा धिरज र अदितीसँगै अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि अभिनय रहनेछ । उनले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । हाल मुम्बईमा रहेका उनले एक हप्तापछि फिल्मको सुटिङ ज्वाइन गर्ने बताइएको छ ।
‘बाबरी’ मा तृप्ती नाडकरको पनि अभिनय रहनेछ । फिल्ममा उनले आमाको भूमिका निर्वाह गर्ने निर्देशक पौडेलले बताए । उनी छोरासँगै नेपाल आउनेछिन् । ४० दिनको छायांकन सेड्युल राखिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । एन्जिला खत्रीको कोरियोग्राफी रहने फिल्मको गीतमा कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंले संगीत भरेका छन् ।
यो फिल्मको गत वर्ष नै छायांकनको तयारी गरिएको थियो । मुख्य नायकमा गायक नितेशजंग कुँवरलाई अनुबन्ध गरेर केही हप्ता वर्कसप समेत भएको थियो । तर, कोरोनाका कारण देश लकडाउन भएपछि फिल्मको छायांकन सुरु हुन पाएन । छायांकनमा ढिलाइ भएपछि नितेशले पारिवारिक समस्या देखाउँदै फिल्म छाडे । यसपछि उनको ठाउँमा धिरज मगरको प्रवेश भएको हो ।

