.jpg)
सफल निर्देशक विकासराज आचार्य लकडाउनभन्दा अगावै फिल्म ‘नाईं नभन्नू ल ६’ निर्माणको तयारीमा थिए । फिल्ममा अनुभव रेग्मी र सेड्रिना शर्मालाई अनुबन्ध गरेर स्क्रिप्टमा बसेका उनी अहिलेसम्म छायांकनमा निस्कन सकेका छैनन् । सेड्रिना ठूलो भएपछिको भूमिकामा अभिनय गर्ने अभिनेत्रीको खोजीमा रहेका उनले तत्काललाई यो फिल्मको निर्माण पछाडि सारेका छन् ।
आइतवार आफ्नो जन्मदिन मनाइरहेका उनले ‘नाईं नभन्नू ल ६’ भन्दा अगाडि अर्को फिल्म बनाउने भएका छन् । थोरै लगानीमा सानो टिम लिएर नयाँ फिल्म बनाउन लागेको उनले बताए । उनले भने- ‘कोरोनाको भयले कहिलेसम्म यतिक्कै बस्ने ? यो अवस्थामा फिल्म क्षेत्रलाई चलायनमान बनाउनु फिल्मकर्मीको दाहित्व हो । त्यसैले सानो टिम लिएर चाँडै छायांकनमा निस्कन्छौं ।’
फिल्ममा दुई जनाको मुख्य भूमिका र सहायक कलाकार एकदमै थोरै रहने उनको भनाई छ । समय अनुकूलको कथामा फिल्म बन्ने उनले बताए । उनका अनुसार, फिल्मको छायांकन अवधि पनि छोटो हुनेछ । कोरोना महामारीपछि थोरै लगानीमा सानो टिम बनाएर फिल्म निर्माण भइरहेका छन् । निर्देशक आचार्य पनि यो समयमा ठूलो लगानीमा फिल्म बनाउने पक्षमा देखिएका छैनन् ।
निर्देशनमा आउनुभन्दा अगाडि दर्जनौं फिल्मको पटकथा तथा संवाद लेखेका आचार्यले ‘नाईं नभन्नू ल’ सिरिजबाहेक ‘नसिब आफ्नो, म तिम्रो भइसकेँ, हजार जुनीसम्म’ फिल्मको निर्देशन गरिसकेका छन् । दर्शक रुवाउने निर्देशकको रुपमा चिनिएका उनी ‘छक्का पञ्जा २’ को कार्यकारी निर्मातामा समेत थिए । उनी नेपालका सर्वाधिक सफल निर्देशक र निर्मातामध्ये एक मानिन्छन् ।

