अभिनेता विपिन कार्की फिल्म छनौटमा निकै चुजी मानिन्छन् । उनलाई संख्या बढाउन फिल्म गर्नु छैन । स्क्रिप्ट र पात्र चित्त नबुझेसम्म उनी फिल्म गर्न तयार हुँदैनन् । उनी एउटा फिल्ममा निर्वाह गरिसकेको भूमिका दोहोर्याएर अर्को फिल्ममा पनि गर्दैनन् । प्रत्येक फिल्ममा फरक चरित्र र गेटअप उनका लागि अनिवार्य हो । यही कारण उनलाई ‘भर्सटायल’ अभिनेता भन्ने गरिन्छ ।
उनै, विपिन फिल्म ‘सेफी किङ’ पछि पर्दामा देखिएका छैनन् । केही फिल्म साइन गरे पनि छायांकनमा कुनै निस्किएका छैनन् । डेढ वर्षदेखि फिल्ममा काम गर्न नपाउँदा उनलाई उकुसमुकुस भइरहेको छ । अब फिल्म ‘विवेक’ बाट अभिनयको तिर्खा मेटाउने उनको सोच छ । उनले गएको महिना मात्र यो फिल्म साइन गरेका हुन् । फिल्मलाई निर्माता माधव वाग्लेले निर्देशन गर्दैछन् ।
.jpg)
जेठबाट छायांकन सुरु हुने फिल्ममा विपिनको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का हुनेछिन् । मधेशको कथा बोल्ने फिल्मको छायांकन जनकपुर र विरगन्जमा हुनेछ । फिल्ममा मधेशी चरित्र निर्वाह गर्न लागेका कारण विपिन मधेशको रहनसहन नजिकबाट निहाल्न यतिबेला मधेश घुमघाममा छन् । केही दिनअघि विरगन्जमा फिल्मको अडिसन समेत राखिएको थियो ।
‘विवेक’ को कथाले लोभ्याएर काम गर्न लागेको विपिनको कथन छ । उनी भन्छन्, ‘‘सेल्फी किङ’ रिलिजको दुई महिनामा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि फिल्ममा काम गरेको छैन । जसले गर्दा अभिनय गर्न नपाएर आत्मा तिर्खाएको छ । अब ‘विवेक’ बाट त्यो तिर्खा मेट्छु ।’’ फिल्मको पात्रका लागि फरक समुदायमा भिज्न मिहिनेत गरिरहेको उनको भनाई छ ।
उनी ‘विवेक’ लाई मूलधारमै फिल्म भन्न रुचाउँछन् । विपिन अगाडि भन्छन्, ‘यो नेपाली फिल्म नै हो । आवश्यकता अनुसार मैथिली र भोजपुरी भाषा पनि प्रयोग गरिनेछ । राजधानीबाहेकलाई मोफसल भनेको मलाई मन पर्दैन । जनकपुर, विरगन्ज नेपालै हो । जुन ठाउँबाट फिल्म बनाए पनि त्यो मूलघारकै हुन्छ ।’ प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्म चार करोडको लगानीमा बन्नेछ ।

