.jpg)
‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ (नाफ) यही १० बैशाखदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने महोत्सव नवौं संस्करण हो । कपनको फैकामा रहेका कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा हुने महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म एवं संस्कृतिको बारेमा एक दिने बहस हुनेछ ।
बहसमा नेपाल र अफ्रिकाबाट आएका फिल्मकर्मीहरुले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादिपलाई फिल्मको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न नौ वर्षबाट महोत्सवको आयोजना गर्दै आएको बताएकी छिन् । यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी फिल्म बजारमा पारेको प्रभावबारे कार्यशालामा बहस हुनेछ ।
अफ्रिकी मुलुकका फिल्म निर्माण शैली र नेपाली फिल्म निर्माण शैली, नेपाली फिल्ममा सांस्कृतिक अवस्था लगायतका विषयमा पनि कार्यशालामा बहस हुने मिश्रले बताइन् । २०२० को डिसेम्बरमा हुनु पर्ने यो महोत्सव कोभिडका कारण बैशाखमा हुन लागेको हो । फेस्टिभलका निर्देशक तथा संचारकर्मी डब्बु क्षत्रीका अनुसार, महोत्सवमा नेपालबाट ७ वटा फिल्म चयन भएका छन् ।

