.jpg)
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेममा रहेको कुरा अब नौलो रहेन । डेढ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले खुलेरै प्रेम सम्बन्ध भने स्वीकार गरेका छैनन् । तर, पछिल्लो समय उनीहरुको क्रियाकलापले प्रेम व्यक्त गरिरहेको छ । नीता एक भोजपुरी फिल्मको छायांकनका लागि भारतको आगरमा रहँदा उनलाई भेट्न हरिहर त्यहीँ पुगेका थिए ।
हरिहरको मायामा डुबेपछि नीताको धर्मकर्ममा ध्यान जान थालेको छ । अचेल उनले विभिन्न मन्दिरमा पुगेर पूजाआजा गरेका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । उनले आफ्नो स्वरमा कृष्ण भजन समेत रेकर्ड गरासकेकी छन्, जसको भिडियो यूट्युबमा सार्वजनिक भइसकेको छ । अब चाँडै उनी आफ्नै निर्देशनमा ‘श्रीमद्भगवत गीता’ बेव सिरिज निर्माण गर्दैछिन् ।
नीताको धर्मकर्ममा ध्यान जानुको कारण हरिहरसँगको संगतलाई मानिएको छ । तर, खुलेर प्रेम सम्बन्ध स्वीकार गर्न असहज मानिरहेका उनीहरुबीच अब व्यवसायिक सहकार्य पनि हुन थालेको छ । लामो समय कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सञ्चालन गरेका हरिहर चाँडै नेपाली सेलिब्रेटीहरुको वर्तमान र भविष्यको चर्चा गर्न ‘द हरिहर अधिकारी शो’ लिएर आउँदैछन् ।
रोचक कुरा के छ भने यो शोको निर्देशक नीता हुन् । उनको निर्देशनमा यो शोको केही भागको छायांकन भइसकेको छ । जसमा रेखा थापा, कोमल ओली र नीता स्वयं अतिथीको रुपमा उपस्थित भएका छन् । शोको सेटअपका लागि हरिहरले निकै खर्च गरेका छन् । उनले शोको निर्देशनको जिम्मेवारी नीतालाई नै दिनुले उनीहरुबीचको सम्बन्ध र मायाप्रेम कति गहिरो छ भन्ने प्रष्ट हुन्छ ।

