Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपोटिज्मको ट्याग लाग्दा रिस उठ्छ : सूरज पंचोली

एजेन्सी, मुम्बई, 2021/03/21
 
अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा व्यापक बहस भइरहेको छ । स्टार किड्सलाई इन्डस्ट्रीमा बढी मौका मिल्ने तर आउसाइडरलाई किनारा लगाइने आरोप कतिपयको छ । यस विषयमा अभिनेता सूरज पंचोलीले आफ्नो भनाई राखेका छन् । उनले फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन निकै मुश्किल हुने बताएका छन् । 
 
अभिनेता आदित्य पंचोली र अभिनेत्री जरीना वहाबका छोरा रहेका सूरज भन्छन्, ‘स्टार किड्सको लागि सोसल मिडियाको यो युगमा घृणासँग लड्नु चुनौतीपूर्ण छ । तर, जब मलाई नेपोटिज्मको ट्याग लाग्छ, तब एकदमै रिस उठ्छ । स्टार किड्स भएपछि मिहेनत नै गर्नुपर्दैन भन्ने धेरैले सोच्ने गरेका छन् । तर, मिहेनत विना फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन सजिलो छैन ।’ 
 
३० वर्षका सूरजले २०१५ मा रिलिज भएको एक्सन ड्रामा फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यू गरेका थिए । यसमा उनको अपोजिटमा अभिनेता सुनील सेट्टीकी छोरी आथिया थिइन् । यो फिल्मलाई सुपरस्टार सलमान खानले निर्माण गरेका थिए । यसपछि सूरज अभिनीत फिल्म ‘सेटेलाइट शंकर’ प्रदर्शनमा आएको थियो । तर, दुर्भाग्य ! उनले खेलेका दुवै फिल्म पत्तासाफ भए ।
 
गएको हप्ता १२ मार्चमा सूरजको नयाँ फिल्म ‘टाइम टू डान्स’ रिलिज भएको छ । स्टेनले डी कोस्टाको निर्देशनमा बनेको यो फिल्ममा अभिनेत्री कटरीना कैफकी बहिनी इसाबेल कैफ पनि लिड रोलमा छिन् । अहिले सूरज आफ्नो नयाँ बायोपिक फिल्म ‘हवा सिंह’ को तयारीमा रहेका छन् । हेवीभेट बक्सर हवा सिंहको जीवनमा बन्ने फिल्मलाई प्रकाश नामबियरले निर्देशन गर्दैछन् । 
Most Visited News (monthly)