Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्लाहीमा निखिलदेखि प्रदीपसम्म सम्मानित

फिल्मीखबर, काठमाडौं, 2021/03/21
 
सर्लाही रैथाने कलाकारहरुलाई सर्लाहीको बरहथवा नगरपालिकाले सम्मान गरेको छ । शनिवार हजरियास्थित खेल मैदानमा आयोजित कार्यक्रममा कलाकार र पत्रकारसहित १७ जना सम्मानित भएका हुन् । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिइएको कार्यक्रममा एक्सन नायक निखिल उप्रेती, ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, कवि एवं गीतकार दिनेश अधिकारी सम्मानित भए । 
 
त्यस्तै, गायक शिव परियार, हास्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर), महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यश कुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपाली लगायतलाई पनि सम्मान गरिएको थियो । 
 
सम्मान कार्यक्रमभन्दा अगाडि कलाकारहरुलाई टायरगाढामा राखेर भव्य र्‍याली समेत निकालिएको थियो । जसमा निखिल उप्रेतीलाई हेर्न र सेल्फी खिच्न दर्शकको ठूलो भीड लागेको थियो । नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई देशव्यापी रुपमा चिनाउन योगदान गर्ने व्यक्तिहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए । 
 
 
नायक उप्रेतीले जन्मथलोमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गरेका थिए । रंग पत्रकार नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएर मनोरञ्जन समेत प्रदान गरेका थिए । कार्यक्रम संयोजक गिरीले ‘सर्लाही स्वर्णिम सम्मान’ लाई अब निरन्तरता दिने योजना रहेको बताएका छन् । 
Most Visited News (monthly)