Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा’ टिमको होली गीतमा किन अटेनन् जितु ?

फिल्मीखबर, काठमाण्डौ, 2021/03/21
‘छक्का पञ्जा’ समुह नेपाली फिल्म क्षेत्रको सबैभन्दा शक्तिशाली मानिन्छ । करीब एक दशक विभिन्न हास्यटेलिश्रृंखलामा काम गरेर ख्याती कमाएका केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेल, शिवहरी पौडेल लगायतको समुहलाई लिएर दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्म ‘६ एकान ६’ बनाएका थिए । पहिलो निर्माण नै सुपरहिट भएपछि यो समुहले ‘वडा नम्बर ६’ बनायो ।
 
दोस्रो फिल्मसम्म सिताराम कलाकार र निर्माताको रुपमा थिए । यो फिल्मपछि उनले दीपक-दीपाको समुह छाडे । ‘छक्का पञ्जा’ को पहिलो सिरिजसम्म निर्माता रहेका निर्मल शर्माले पनि यसपछि यो समुह छाडेका थिए । कलाकार जितु नेपाल अलगिएसँगै दीपक-दीपाको सुमह फेरि चोइटिएको छ । ‘छक्का पञ्जा’ समुहले बनाउने नयाँ फिल्ममा अब उनी नदेखिने पक्का झैँ छ । 
 
‘मुन्द्रको कमेडी क्लब’ को अध्यक्षमा दीपाश्री निरौलालाई हटाएर अभिनेत्री करिश्मा मानन्धरलाई राखेपछि जितु र ‘छक्का पञ्जा’ टिमबीच दशकौं पुरानो सम्बन्धमा तिक्तता आएको हो । दीपाश्रीको आवाजमा रहेको ‘धनियाँ के होली’ गीतको भिडियोमा जितुबाहेक ‘छक्का पञ्जा’ सिरिजका प्रायः सबै कलाकारको अभिनय रहनुले पनि उनीहरुबीच सम्बन्ध विग्रिएको प्रमाणित हुन्छ । 
 
 
शनिवार गीत सार्वजनिक कार्यक्रममा पत्रकारले भिडियोमा जितु नेपाल नदेखिनुको कारणबारे सोधेको प्रश्नमा दीपकले ‘छक्का पञ्जा’ सिरिजका अरु पनि धेरै कलाकारको अभिनय नरहेको बताए । उनलाई जवाफ दिन असहज भएको बुझेर केदारले ‘ह्याप्पी होली’ भन्दै कुरा मोडे । यसपछि दीपकले दीपाश्रीलाई ‘होलीको कुरा के भयो ?’ भन्दै जितुको बारेमा थप कुरै गर्न चाहेनन् । 
 
गीत सार्वजनिक कार्यक्रममा केदारले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि ‘छक्का पञ्जा’ समुहले एकसाथ भिडियोमा अभिनय गरेको बताएका थिए । तर, गीतमा जितु नदेखेपछि पत्रकारले एकिकरण भएको नेपालबाट एउटा जिल्ला नै गायब भएछ नी ? भनेर प्रश्न गरेका थिए । यसको जवाफमा दीपाश्रीले एकपटक सँगै काम नगर्दैमा अलग भएको रुपमा नबुझ्न आग्रह गरिन् ।
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ सम्म जितुसँग दीपक दीपा समुहको सहकार्य भएको थियो । अब यो समुहले बनाएको गीतको भिडियोमा समेत जितु नदेखिएपछि टिम फुटेको चर्चालाई बल मिलेको छ । तर, दुवै पक्षले सम्बन्ध विग्रिएको कुरा स्वीकार गरेको छैनन् । दीपकले जितुसँग केही कुरामा असमझदारी भए पनि सम्बन्ध भने नविग्रिएको बताउँदै आएका छन् । 
Most Visited News (monthly)