
फिल्म छायांकनका लागि चाहिने क्यामेरादेखि लाइटसम्मको उपकरणहरु उपलब्ध गराउने व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र उपकरण संघले विश्व प्रकाश गौचनको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । शनिवार चलचित्र विकास बोर्डमा आयोजित संघको तेर्हौं वार्षिक साधारण सभा तथा प्रथम विधान सभामा नयाँ पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
गत असोज ५ गते संघले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति पाएको थियो । कोरोनाका कारण संघले शपथ ग्रहणको कार्यक्रम भने स्थगन गरेको थियो । संघको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशब घिमिरे, कोषाध्यक्षमा जीवन थापा, सदस्यहरुमा माधव थापा, विश्नु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना चयन भएका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका निवर्तमान महासचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए । बोर्ड अध्यक्ष दाहालले फिल्म क्षेत्रलाई चलायमान बनाउन चलचित्र उपकरण संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा फिल्म सम्बद्ध विभिन्न संघ संस्थाका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

