एक समय नेपाली फिल्ममा अभिनेत्री विपना थापाले एकछत्र राज गरेकी थिइन् । त्यसबेला उनको टाउको पोस्टरमा राखेपछि फिल्म चल्छ भन्ने मान्यता स्थापित थियो । १४ वर्षको उमेरमा फिल्म ‘जन्मभूमि’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि दुई दशक करिअर पछाडि फर्केर हेर्नुपरेन । पहिलो फिल्मपछि नै उनी नेपाली फिल्मकी सबैभन्दा व्यस्त अभिनेत्री बनेकी थिइन् ।
तर, १४ वर्ष भयो विपना गुमनामजस्तै छिन् । फिल्म वरमाला’ पछि वास्तविक जीवनमै भारतीय मुलका आयुतोष भारद्वाजलाई वरमाला पहिराएकी उनी यसपछि अभिनयमा फर्किइनन् । अहिले उनी १० वर्षिय छोराकी आमा समेत भइसकेकी छन् । छोरा हुर्किसकेका कारण अब उनी फिल्ममा कमब्याक गर्ने तयारीमा छिन् । आउँदो वर्ष नयाँ फिल्ममा काम गर्ने उनको योजना छ ।
.jpg)
९० को दशकमा निर्विकल्प अभिनेत्रीको रुपमा छाएकी उनले पहिलो फिल्म ‘जन्मभूमि’ भने सुटिङ हेर्न जाँदा पाएकी थिइन् । आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा पहिलो फिल्म अफर हुँदाको क्षण सम्झँदै उनले भनेकी छन्, ‘म साथीहरुसँग सुनधारामा मोहन निरौला सरको टेलिफिल्मको सुटिङ हेर्दै थिएँ । त्यस्तैमा भीडलाई खिच्दै आएको क्यामेरा मेरो फेसमा आएर अडिएछ ।’
उनी अगाडि भन्छिन्, ‘क्यामेरामा मलाई देखेपछि मोहन सरले बोलाएर फिल्म प्रस्ताव गर्नुभयो । म अक्कनबक्क भएँ । मैले परिवारमा आएर कुरा गर्नु भनेपछि मोहन सर, निर्माता छविराज ओझा भोलीपल्टै घरमा आएर कुरा गर्नुभयो । स्क्रिप्ट र मेरो भूमिका सुनेपछि परिवारले ‘ओके’ गर्नुभयो । त्यसपछि मलाई ५ हजार दिएर छवि दाईले ‘जन्मभूमि’ साइन गराउनुभएको थियो ।’
उनी आफ्नो पहिलो सिन नै ‘वान टे ओके’ भएको सम्झन्छिन् । तर, पहिलो सिनमा नै गर्भवती महिलाको गेटअपमा देखिन लाज लागेर उनी फिल्म नै छाड्ने निधोमा पुगेकी थिइन् । उनी सम्झन्छिन्, ‘गाउँका सबै मान्छे सुटिङ हेर्न आएका थिए । त्यही दिन मैले गर्भवती महिलाको सिन दिनुपर्ने थियो । तर, लाजले मैले त्यो सिन गर्नै मानिनँ । एकदमै रोएर फिल्म नै गर्दिनँ भनको थिएँ ।’
कलाकार बसुन्धारा भुषालले सम्झाइ बुझाइ गरेपछि आफू गर्भवती महिलाको सिन दिन तयार भएको भिडियोमा विपनाले भनेकी छन् । फिल्ममा पहिलो सिन नै रुँदै घरबाट बाहिर निस्कनु पर्ने भएकाले पनि ‘वान टे ओके’ भएको उनी सम्झन्छिन् । ‘जन्मभूमि’ रिलिज लगत्तै एकसाथ ६ वटा फिल्म साइन गरेर आफू नेपाली फिल्मको सबैभन्दा व्यस्त अभिनेत्री भएको उनले बताएकी छन् ।
भिडियो :-

