
नेपालमा वर्षौंदेखि फिल्म सम्बन्धि गतिविधि समेट्ने च्यानलको रुपमा ‘टिभी फिल्मी’ मात्रै थियो । अब फिल्मका हरेक जानकारी दर्शकमाझ पुर्याउने उद्देश्यसहित कान्तिपुर नेटवर्कले नयाँ च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु गरेको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले क्ल्याप बोर्ड ठोकेर च्यानलको शुभारम्भ गरे ।
उनले लकडाउनमा यो च्यानलको जन्म भएको बताए । उनले भने- ‘लकडाउनमा सिनेमा हलहरु बन्द थिए । घरमा बसेर दिन काट्न सबैलाई गाह्रो भएको थियो । त्यसैको उत्पत्ति ‘कान्तिपुर सिनेप्लेक्स’ हो ।’ च्यानलसँग तीन सयभन्दा बढी फिल्म ‘स्टक’ मा रहेको उनले बताए । फिल्म निर्माण गर्न कान्तिपुर स्टूडियोको पनि स्थापना गरिएको सिरोहियाले जानकारी दिएका छन् ।
याक एन्ड यति होटलमा भएको च्यानलको शुभारम्भ कार्यक्रममा नेपाली फिल्मका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कलाकार हरिवंश आचार्यले १६ पैसामा फिल्म हेरेको स्मरण गर्दै इतिहासमा बनेका फिल्मलाई ‘कान्तिपुर सिनेप्लेक्स’ ले एचडीमा रुपान्तरण गरेर दर्शकलाई हेर्ने वातावरण बनाउनेमा विश्वास व्यक्त गरे ।
अभिनेता राजेश हमालले फिल्मसँग सम्बन्धित च्यानल भएकाले फिल्म क्षेत्रका लागि खुसीको कुरा रहेको बताए । त्यस्तै, कलाकार सुनील थापाले नेपाली फिल्मको सम्वर्द्धनमा च्यानलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । शम्भुजित बाँस्कोटा, निरुता सिंह, दीपाश्री निरौला, भुवन केसी दीपकराज गिरी, पूजा शर्मा लगायतले पनि च्यानलको सफलताको शुभकामना दिएका थिए ।

