कोरोना महामारी नभएको हुन्थ्यो भने यतिबेलासम्म फिल्म ‘२ नम्बरी’ को छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा पुगिसकेको हुने थियो । तर, कोरोनाका कारण फिल्मको छायांकन अधुरैमा रोकियो । सरकारले छायांकन अनुमति दिएपछि यही चैत दोस्रो साताबाट बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम भए पनि अब ५ महिना पछाडि सरेको छ ।
निर्देशक दीपेन्द्र लामाले आउँदो भदौबाट फिल्मको बाँकी छायांकन सुरु गरिने जानकारी दिए । फिल्ममा भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका छ । फिल्मको छायांकन रोकिएपछि उनी लकडाउनको समयमा स्वदेश फर्किएकी थिइन् । अहिले भुटानबाट नेपाल उडान बन्द छ । जसले गर्दा उनी तत्काल नेपाल आउन सम्भव नभएपछि फिल्मको छायांकन सारिएको हो ।
(1).jpg)
‘अहिले भुटानबाट नेपाल उडान बन्द छ । त्यसमाथि कोरोनाका कारण विदेशीहरुलाई अराइभल भिषा दिइएको छैन । यसले गर्दा अहिले उगेनले नेपाल आउन भारतीय दूतावासमा भिषा आवदेन दिनुपर्छ । भुटानबाट दिल्ली पनि हप्तामा एउटा मात्र उडान रहेछ,’ निर्देशक लामाले भने, ‘उगेनलाई कुर्दा अरु कलाकारहरुको सेड्युल विग्रने भएपछि भदौबाट छायांकन गर्न लागेका हौं ।’
उगेन नेपाल आउने अनिश्चित भएकाले मात्र फिल्मको छायांकन पछाडि सरेको भने होइन । दयाहाङ राईदेखि छायाँकारसम्मको सेड्युल टाइट भएकाले पनि चैतबाट फिल्मको छायांकन सुरु गर्न निर्माण टिमलाई समस्या भएको हो । निर्देशक लामा भन्छन्, ‘उगेनको फ्ल्याइट एक हप्ता पछाडि सर्यो भने अरु कलाकारको सेड्युल विग्रन्छ । त्यसैले भदौबाट छायांकन गर्न लागेका हौं ।’
यो फिल्मको छायांकन ५ महिना पछाडि सर्दा सबैभन्दा बढी फाइदा दयाहाङलाई भएको छ । उनले यही चैत अन्तिमबाट फिल्म ‘बिहे पास’ को छायांकन सुरु गर्दैछन् । यसपछि बैशाख अन्तिमबाट फिल्म ‘कबड्डी ४’ का लागि समय दिँदैछन् । उगेन नेपाल आएर चैतबाटै ‘२ नम्बरी’ छायांकनमा निस्किएको भए उनले ‘बिहे पास’ छाड्नै पर्ने हुन्थ्यो । तर, अब उनलाई राहत मिलेको छ ।
दुई मिल्ने साथीको कथामा बन्ने ‘२ नम्बरी’ मा उगेन र दयाहाङको जोडी बाँधिएको छ । फिल्ममा पल शाह र वर्षा राउत पनि मुख्य भूमिकामा छन् । रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ र पल साथीको भूमिकामा छन् ।

