Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेड्रिनासँग अनुहार मिल्ने अभिनेत्री खोज्दै विकास आचार्य

फिल्मीखबर, काठमाण्डौ, 2021/03/18
 
नेपालमा यदी कुनै फिल्मको सबैभन्दा धेरै सिरिज बनेको छ भने त्यो ‘नाई नभन्नु ल’ हो । यसको पाँचौं श्रृंखलासम्म निर्माण भएर प्रदर्शनमा आइसकेको छ । र, सबै सिरिज बक्सअफिसमा सुपरहिट भएका छन् । तेस्रो पार्टबाहेक बाँकी सबै सिरिजको निर्देशक विकासराज आचार्य स्वयंले गरेका हुन् । यो फिल्मको हरेक नयाँ सिरिजमा प्रमुख कलाकारहरु भने परिवर्तन हुँदै आएका छन् । 
 
अब निर्देशक आचार्य ‘नाई नभन्नु ल’ को छैटौं सिरिज निर्माणको तयारीमा छन् । जेठबाट छायांकन सुरु हुने फिल्मको विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर स्क्रिप्ट तयार पारेका छन् । फिल्ममा केही कलाकारहरु समेत अनुबन्ध भइसकेका छन् । अनुभव रेग्मी, सेड्रिना शर्मा र सलोन बस्नेतको अभिनय रहने फिल्मका लागि अहिले निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ ।
 
पहिला फिल्मका लागि लिड अभिनेत्रीको प्रस्ताव ‘नाई नभन्नु ल ४’ मा अभिनय गरिसकेकी वर्षा राउतलाई गरिएको थियो । निर्देशक आचार्यसँग उनको मौखिक सहमति समेत भइसकेको थियो । तर, छैटौं सिरिजमा चौथो सिरिजको क्लाइमेक्सको दृश्यहरु पनि समावेश हुने भएपछि उनी फिल्ममा नहुने भएकी छन् । यतिबेला निर्माण टिमले अरु अभिनेत्रीसँग कुरा गरिरहेको छ ।
 
‘नाई नभन्नु ल ५’ मा बाल कलाकारको रुपमा अभिनय गरेकी सेड्रिना ठूली भएपछिको भूमिकाका लागि अभिनेत्री चाहिएको लेखक तिमल्सिनाले बताए । उनले भने- ‘सेड्रिना ठूली भएपछिको भूमिकामा अभिनय गर्न उनीसँग अनुहार मिल्ने कलाकार चाहिएको हो । केही अभिनेत्रीसँग कुरा भइरहेको छ । चाँडै खुसीको खबर सुन्न पाइएला ।’ फिल्मलाई विकास आचार्य स्वयंले निर्माण गर्नेछन् ।
Most Visited News (monthly)