
बलिउड सुपरस्टार अजय देवगनको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम ३ : द कन्क्लूजन’ले भारतीय बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । शुक्रबार (१६ असोज)देखि प्रदर्शनमा आएको फिल्मले ६६ करोड ७५ लाख नेट कमाउँदै वर्षको दोस्रो ठूलो ओपनिङ पाएको हो । यो अजयको करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म समेत बनेको छ ।
अभिषेक पाठकको निर्देशनमा बनेको फिल्मले भारतसँगै ओभरसिज मार्केटमा पनि राम्रो कमाइ गरेको छ । भारतीय ट्रेड पोर्टल स्याकनिल्कका अनुसार फिल्मले विदेशमा १५ करोड ग्रस कमाएको छ । योसँगै फिल्मको पहिलो दिनको विश्वव्यापी कमाइ ९५ करोड १० लाख ग्रस पुगेको छ । त्यसमा भारतको ग्रस कमाइ ८० करोड १० लाख छ ।
यो फिल्मले ओपनिङमा बलिउडका एकसेएक ब्लकबस्टर फिल्मलाई समेत पछि पारेको छ । त्यसमा शाहरुख खानको ‘पठान’ (५७ करोड), रणवीर कपूरको ‘एनिमल’ (६३ करोड), राजकुमार रावको ‘स्त्री २’ (५१ करोड ८० लाख), सलमान खानको ‘टाइगर ३’ (४४ करोड ५० लाख), सनी देओलको ‘गदर २’ (४० करोड) र रणवीर कपूरको ‘धुरन्धर’ (३० करोड) लगायत छन् ।
शुक्रबारको बम्पर ओपनिङपछि विकेन्डमा फिल्मको कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ । भारतीय ट्रेड एनालिस्टहरूका अनुसार यो फिल्म अजय देवगनको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्नेछ । अहिलेसम्म उनको सर्वाधिक कमाउने फिल्म ‘तान्हाजीः द अनसंग वारियर’ हो, जसले ३६१ करोड कमाएको थियो ।
११० करोड भारुमा निर्माण भएको यस फिल्ममा अजय देवगनसहित तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर, जयदीप अहलावत, प्रकाश राज, कमलेश सावंत, सौरभ शुक्लालगायतको अभिनय रहेको छ । फिल्मलाई दर्शक र समीक्षकले अघिल्ला दुई शृङ्खलाभन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । ‘दृश्यम’ फ्रेन्चाइजको यो अन्तिम श्रृंखला हो ।

