
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई प्रमाणित गरिसकेका हेमराज विसीले नेपाली फिल्म क्षेत्रको सबैभन्दा ठूलो समुहसँग टाइअप गरेका छन् । उनले ‘छक्का पञ्जा’ समुहको नयाँ फिल्मलाई निर्देशन गर्न लागेका हुन् । उनले ‘छक्का पञ्जा ४’ निर्देशन गर्न लागेको चर्चा चलिरहे पनि फिल्मको नाम ‘माग्ने राजा’ जुराइएको स्रोत बताउँछ । तर, हेमराजले अहिलेसम्म नाम तय नभइसकेको बताए ।

मोडलिङको क्षेत्रमा ठूलो नाम बनाएकी नीति शाह अब फिल्ममा डेब्यू गर्ने योजनामा छिन् । मिस नेपालमा भाग लिएपछि कयैन् फिल्मबाट आएको प्रस्ताव ठाडै नकारेकी उनी यसै वर्ष अभिनेत्रीको रुपमा लञ्च हुने गरी तयारी गरिरहेकी छन् । म्यानेजर समेत नियुक्त गरिसकेकी उनले अभिनयप्रति आफ्नो रुचि बढ्न थालेपछि पछिल्लो समय निरन्तर फिल्महरु हेरिरहेकी बताएकी छन् ।

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा साउथका एक चर्चित कलाकारको प्रवेश भएको छ । साउथ फिल्म ‘पुष्पा’का भिलेन सुनिल वर्मालाई निर्माण टिमले फिल्ममा भित्राएको हो । निर्देशक चन्द्र पन्तले आइतवार भारतमा उनीसँग कागजी सम्झौता गरेका हुन् । उनी साउथ फिल्ममा हाँस्य भूमिकाका लागि प्रख्यात छन् ।

फिल्म ‘प्रेमगीत’बाट स्टारको रुपमा उदाएका प्रदीप खड्का लभर ब्वाईको रुपमा रुचाइएका अभिनेता हुन् । ‘प्रेमगीत २’, ‘रोज’, ‘लिलिबिली’, ‘लभ स्टेशन’ जस्ता फिल्ममा रोमान्टिक भूमिकामा प्रस्तुत भएका उनलाई दर्शकले सुकिला चरित्रमै हेर्न रुचाउँछन् । करिअरको उचाईंमा आफ्ना प्रशंसकको चाहना विपरित जाने हिम्मत कलाकारहरुले गर्दैनन् । तर, प्रदीप अपवाद बनेका छन् ।

अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । आइतवार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र ‘तिम्रो सुन्दर आँखा’ गीत सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव-अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ ।


