
अभिनेता अक्षय कुमार र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर अभिनीत फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्सअफिसमा आफ्नो प्रभाव बनाउन असफल देखिएको छ । पहिलो विकेन्डमा ३९ करोड ४० लाखको सन्तोषजनक कमाई गरेको फिल्मको चौंथो दिनको व्यापारमा ५० प्रतिशत गिरावट आएको छ । फिल्मले सोमवार ६ करोडको मात्र कलेक्सन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फर्स्टलुक पोस्टर, टिजर र ट्रेलरबाट ठूलो हाइप बनाएको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । समाजभित्रको गम्भीर विषयलाई सुक्ष्म रुपमा उठाउँदै आएका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो फिल्मप्रति दर्शक र फिल्मकर्मीमा उच्च अपेक्षा छ । ट्रेलर हेर्दा ‘पशुपति प्रसाद’ र ‘आमा’पछि उनको अर्को उत्कृष्ट फिल्म बनेको संकेत गर्छ ।

अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि आगामी भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब साउन १३ गते फिल्म प्रदर्शन हुनेछ । भदौ १० गते अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘प्रकाश’ रिलिज हुने भएपछि खगेन्द्रले एक महिना अगाडि नै ‘पानीफोटो’लाई प्रदर्शन गर्न लागेका हुन् ।

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति फेरबदल भएको छ । मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि भदौ २४ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । फिल्मको पोस्ट प्रोडक्सनको काम सकिएकाले फिल्मलाई दुई साता अगाडि नै प्रदर्शन गर्न लागिएको निर्देशक थापाले बताए ।

यही जेठ १५ गते संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा (८,८४८.८६ मिटर उचाई) को सफल आरोहण गरेकी अभिनेत्री दीया पुनले काठमाडौं फर्किए लगत्तै नयाँ फिल्म साइन गरेकी छन् । सगरमाथा आरोहणको तयारी गरिरहँदा उनी अभिनीत फिल्म ‘मन्त्र’ हलमा रिलिज भएको थियो । सगरमाथा आरोहण गरेर फर्किएपछि उनी सोमवार फिल्म ‘अन्तिम संस्कार’मा अनुबन्ध भएकी हुन् ।

भुवन केसी र सरोज खनाल समकालीन कलाकार हुन् । सरोजभन्दा अगाडि भुवनले फिल्ममा प्रवेश गरेको भएपनि करिअरको उचाईंमा रहँदा उनीहरुले ‘विजय पराजय’, ‘परिभाषा’ लगायतका फिल्ममा एकसाथ काम गरेका थिए । उनीहरुबीच वास्तविक जीवनमा सुमधुर सम्बन्ध स्थापित छ । भुवन केसीलाई देखेपछि आफूलाई हिरो बन्ने रहर पलाएको सरोज खनाल बताउने गर्छन् ।

