
‘ह्रस्व दीर्घ’ निर्देशक चन्द्र पन्तको आगामी फिल्म ‘आ बाट आमा’मा कलाकारको लाइनअप बलियो बनिरहेको छ । केही साताअघि अभिनेत्री विपना थापालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको फिल्ममा अब अभिनेता पल शाह भित्रिएका छन् । उनीसँग हालै निर्देशक पन्तले लिखित सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार यो फिल्ममा विपनाको छोराको भूमिकामा पल देखिनेछन् ।

गत चैतमा प्रदर्शन भएको ‘पिताम्बर’ बक्स अफिसमा सफल नभए पनि यसले कृषा चौलागाइँलाई भने एक्सन निर्देशकको रुपमा स्थापित गरायो । ठूला स्टारलाई लिएर ठूलो बजेटमा स्तरीय एक्सन फिल्म बनाएको भन्दै उनको प्रशंसा भएको थियो । यसपछि उनलाई बाहिरी ब्यानरबाट फिल्म निर्देशनको प्रस्ताव आइरहेको छ । यसैबीच, उनले जापान पुगेर नयाँ फिल्म साइन गरेकी छन् ।

निर्माण घोषणादेखि नै नामका कारण चर्चामा रहेको फिल्म हो, ‘जनै हराएको बाहुन’ । नामलाई लिएर हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्ति र संस्थाले आपत्ति जनाएपछि रिलिजको समयमा विवाद चर्किने डरले अन्ततः फिल्मको शीर्षक परिवर्तन गरिएको छ । निर्माण पक्षले ‘बाहुन’को ठाउँमा ‘मान्छे’ शब्द राखेको छ । अब फिल्मको शीर्षक ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’ हुनेछ ।

बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’को रुपमा चिनिएका अभिनेता आमिर खान यतिबेला नयाँ फिल्म ‘सितारे जमीन पर’का कारण चर्चामा छन् । आगामी २० जुन (असार ६ गते) रिलिज हुन लागेको यो फिल्ममा उनले बास्केटबल कोचको भूमिका निभाएका छन् । आफ्ना पछिल्ला दुई फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ र ‘लाल सिंह चड्ढा’ असफल भएकाले यसपटक उनलाई निकै ठूलो दबाब छ ।

रिलिजअघि फिल्म ‘नरसिंहा अवतार’को चर्चा लोभलाग्दो थियो । त्यसको एउटै कारण थियो, राजेश हमालको कमब्याक । धेरैलाई अपेक्षा थियो, फिल्ममा उनको कामको पनि चर्चा हुनेछ । तर, यतिबेला अर्का अभिनेता राज कटुवालको चर्चाले उनी छायाँमा परेका छन् । फिल्म हेर्ने प्रायःले राजको एक्सन र अभिनयको प्रशंसा गरेका छन् । उनको क्लाइमेक्सको दृश्य बढी रुचाइएको छ ।

यही जेठ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को प्रचारमा निर्माण टिमले फरक शैली अपनाइरहेको छ । फिल्मको नामलाई ब्रान्डिङ गर्न विभिन्न सहरमा बोकाको मुकुट लगाएर प्रचार गरिएको छ भने शनिबार काठमाडौंमा विवाहको शैलीमा सांगीतिक कार्यक्रम आयोजना गरियो । जहाँ फिल्मकी अभिनेत्री गरिमा शर्मा पञ्चे बाजासहित बग्गीमा चढेर पुगेकी थिइन् ।

