
नेपालमा बेला-बखतमा चर्चाको विषय बन्ने गरेको कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट नाममा फिल्म निर्माण हुने भएको छ । सिमसोन तामाङको निर्देशनमा बन्न लागेको ‘रातो पासपोर्ट’को आइतबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरियो । युरोपका देशहरूको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्न नेपालीहरूले गर्ने संघर्षको कथामा फिल्म आधारित हुने जनाइएको छ ।

अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो पटक सहकार्य गरेको फिल्म ‘परिवर्तन’को छायांकन सुरु भएको छ । शनिबार झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चना गर्दै फिल्मको छायांकन थालिएको हो । मुहूर्त समारोहमा सुशील र अञ्जनाले पहिलो सट दिएका थिए । ४० दिनका सेड्युलमा फिल्मको झापा, विराटनगर र इलाममा छायांकन गरिनेछ ।

आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’का मुख्य अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक दुई पोस्टरमा उनी सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । उनको शरीर बलिष्ठ देखिन्छ भने दाह्री र कपाल लामो छ । दुवै पोस्टरमा उनको अनुहारमा रिसको आवेग देख्न सकिन्छ ।

आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३४ सेकेण्ड लम्बाइको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । भुटानी शासकबाट लखेटिएका भुटानीको पीडा र नेपालको धर्म-संस्कृतिमाथि भइरहेको आक्रमणलाई फिल्मले मुख्य कथावस्तु बनाएको टिजरबाट बुझ्न सकिन्छ ।

अभिनेत्री तथा मोडल रुविना थापा आमा बनेकी छन् । उनले बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीलाई काखमा लिएको एक तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै खुसी साटेकी छन् । उनले छोरीको नाम ‘जून’ राखेको पनि जनाएकी छन् । यतिबेला उनलाई प्रशंसक र सेलिब्रेटीहरुबाट बधाईको ओइरो लागेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको कथामा आधारित भएर बनेको फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी रेबेल फिल्म्सले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।

