Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामायण’ले भारतमा गर्‍यो एक हजार करोडको नेट कमाइ

फिल्मीखबर, काठमाडौं, 2026/11/28

Ramayana review — can India's most expensive movie beat The Odyssey?

 

काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’ले भारतीय बक्स अफिसमा नेट कमाइ एक हजार करोड भारु नघाएको छ । हिजो शुक्रबार ८ करोड ४५ लाख भारु नेट कमाएको फिल्मले २३ दिनमा एक हजार करोड ५५ लाख भारु जोड्न सफल भएको हो । फिल्मको कुल ग्रस कमाइ भने एक हजार १९५ करोड १० लाख भारु पुगेको छ ।

फिल्मले विदेशी बजारमा पनि आकर्षक कमाइ गरेको छ । शुक्रबारसम्म फिल्मको विदेशी बजारको कुल कमाइ ५९५ करोड भारु ग्रस छ । त्यसमा नेपालको योगदान २७ करोड रुपैयाँ छ । भारत र विदेशी बजारको जोड्दा फिल्मको विश्व्यापी कमाइ एक हजार ७९० करोड १० लाख भारु ग्रस पुगेको छ । योसँगै विश्वव्यापी सर्वाधिक कमाउने ‘रामायण’ तेस्रो भारतीय फिल्म बनेको छ ।

फिल्मले पहिलो ८ दिनमा भारतमा ५६४ करोड ६० लाख र दोस्रो साता २९९ करोड १५ लाख भारु नेट कमाएको थियो । पहिलो साताको तुलनामा दोस्रो साताको कमाइ ४७ प्रतिशतले घटेको थियो । तेस्रो सातामा फिल्मले थप १२८ करोड ३५ लाख भारु नेट कमायो । दोस्रो साताको तुलनामा तेस्रो साताको व्यापार ५७.१ प्रतिशतले घटेको हो । अहिले फिल्म चौथो सातामा प्रदर्शनरत छ ।

भारतीय बजारमा फिल्मको कुल कमाइमा हिन्दी संस्करणको योगदान सबैभन्दा ठूलो छ । हिन्दी संस्करणले मात्रै ७५७ करोड ६५ लाख भारु नेट कमाएको छ, जुन कुल घरेलु नेट कमाइको ७५.७ प्रतिशत हो । त्यस्तै, कन्नड संस्करणले ७९ करोड ९० लाख, तेलुगुले ५८ करोड ५ लाख, मलयालमले ५४ करोड ३० लाख र तमिलले ५० करोड ६५ लाख भारु नेट कमाएका छन् । 

भगवान् राम र रावणको पौराणिक कथामा आधारित यस फिल्ममा रणवीर कपूरले राम, साई पल्लवीले माता सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् । यो फिल्मको दोस्रो भाग पनि निर्माण भइसकेको छ, जुन सन् २०२८ को दीपावलीमा प्रदर्शन हुनेछ । दोस्रो श्रृंखलामा हनुमान पात्रको प्रवेशसँगै राम र रावणबीचको युद्धलाई देखाइनेछ ।