Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल र प्रिन्सी पूर्व पुग्दा दर्शकमा उत्साह

फिल्मीखबर, काठमाडौं, 2026/11/26

anmol kc

 

काठमाडौं । गत कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’ बिहीबार (आज)बाट तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनको दुई हप्तामै ९ करोड हाराहारीको व्यापार गरिसकेको फिल्म अब दोहोरो अंक छुने लक्ष्यमा छ । फिल्मको व्यापारिक रफ्तार अझै सुखद रहेकाले आगामी आइतबारसम्म १० करोडको आँकडा पार हुने अनुमान गरिएको छ । 

फिल्मप्रति दर्शकको आकर्षण बढाउन यतिबेला निर्माण पक्षले मोफसल यात्रालाई तीव्रता दिएको छ । एक साता फिल्मका मुख्य कलाकारहरू भुवन केसी, अनमोल केसी र प्रिन्सी खतिवडाले पश्चिम नेपालका चार सहर पुगेर दर्शकसँग भेट गरेका थिए । त्यो भ्रमण फिल्मको व्यापारका लागि फाइदाजनक रह्यो । बुधबारदेखि भने फिल्मको टिम पूर्वी सहरको यात्रामा निस्किएको छ । 

बुधबार दिनभर भुवन, अनमोल र प्रिन्सीले इटहरी, विराटनगर र धरानका विभिन्न हलहरू पुगेर दर्शकसँग प्रत्यक्ष भेट गरे । त्यहाँ उनीहरूसँग भेट्न र सेल्फी खिच्न दर्शकहरूबीच हानाथाप नै चलेको थियो । अझ अनमोलसँग भेट्न युवतीहरू फूलको बुकेट बोकेर घन्टौंसम्म हलमा कुरेर बसेका थिए । कति त कलेज नै हापेर समेत उनलाई भेट्न पुगेका थिए ।

अब फिल्मको टिम बिहीबार दमक र विर्तामोड हुँदै इलामस्थित फ्रेन्डस् सिनेमाज् पुग्ने जनाइएको छ । कलाकारहरूको यो भ्रमणले पूर्वका हलहरूमा फिल्म हेर्ने दर्शकको चाप ह्वात्तै बढेको छ । दुई दिनको पूर्वी भ्रमणले फिल्मको व्यापारमा ५० लाख हाराहारी वृद्धि हुने अपेक्षा गरिएको छ । पूर्वबाट फर्किएपछि काठमाडौंका हलहरूमा पुनः दर्शकसँग भेट गर्ने योजनामा निर्माण पक्ष छ । 

भुवन केसीको निर्देशन तथा जिया केसीको निर्माण रहेको फिल्ममा गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटीलगायतका कलाकारको पनि अभिनय छ । ४० को दशकको ग्रामीण परिवेशमा निर्माण भएको फिल्मको कथावस्तु, छायांकन र कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।