काठमाडौं । शिवम् अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सेतो कोट’को छायांकन सुरु गरिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणबाट फिल्मको छायांकन थालिएको हो । फिल्मका लागि पहिलो सट अभिनेत्री पूजा शर्माले दिएकी थिइन् । निर्माण पक्षले सार्वजनिक गरेको तस्बिरमा पूजा दीक्षान्त समारोहमा लगाइने गाउनमा देखिएकी छन् ।
काठमाडौँ र मकवानपुरमा छायांकन हुने फिल्ममा पूजासहित नीर शाह, अशोक दर्जी, सुमित्रा दाहाल (माइली बुहारी), पवन खतिवडा, विष्णु सापकोटा (हर्के हवल्दार), सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर र सरिता अधिकारीलगायतका कलाकारको अभिनय रहनेछ ।
मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा मिनु शर्मा ‘सपना’ र सन्देश थापा निर्माताका रूपमा छन् । मिनुले यसअघि ‘मन बिनाको धन’ निर्माण गरेकी थिइन् । फिल्मको कार्यकारी निर्मातामा फणीन्द्र तामाङ छन् । निर्देशक अधिकारी स्वयंको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा स्टिभ शंकरको संगीत रहनेछ ।

