.jpg)
काठमाडौं । सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘पच्चीस पच्चीस’को छायांकन सुरु गरिएको छ । बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । मुहूर्त समारोहमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरिएको थियो । फिल्मको काठमाडौं आसपासका क्षेत्रमा ४० दिन छायांकन हुने जनाइएको छ ।
कर्ण इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम, रोयल आचार्यललगायतका कलाकारको अभिनय रहनेछ । दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यही फिल्मबाट डेब्यू गर्दैछन् ।
सुब्रत आचार्य र जयाको कथा तथा सुशील देवकोटाको पटकथा लेखन रहेको फिल्ममा कर्ण कार्की निर्माताका रूपमा छन् । कर्णले यसअघि ‘होस्टल ३’ निर्माण गरेका थिए । फिल्ममा दीपेन्द्र गौतम कार्यकारी निर्माता तथा धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्मातामा छन् । सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।
फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन (डीओपी), प्रशान्त सिवाकोटीको संगीत, राजु तामाङको द्वन्द्व निर्देशन, किरण थापाको कोरियोग्राफी, ज्योति केसीको पोसाक डिजाइन तथा योगेश काजीको ध्वनि संयोजन रहनेछ । फिल्मको वितरण रोहित−रत्नको कम्पनी आरआर फिल्म्सले गर्नेछ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

