काठमाडौं । के तपाईंलाई पुराना पुस्ताका कलाकारको फिल्म हेर्न मन छ ? त्यसो भए यो उपयुक्त अवसर हो । किनकि, यो साता दुई दशकअघिका चर्चित कलाकारले अभिनय गरेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । ती हुन्, ‘सारथी’ र ‘ककाकिकी’ । विषयवस्तुका हिसाबले दुवै फिल्म फरक भए पनि कलाकारका हिसाबले भने दुवैमा पुरानो पुस्ताकै वर्चस्व छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको ‘सारथी’मा कालजयी फिल्म ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका छ । यो उनीहरूको २२ वर्षपछिको सहकार्य हो । फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा छन् । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको ‘ककाकिकी’मा भने तृप्ति नाडकर, गौरी मल्ल र रेखा थापालगायतका कलाकारको अभिनय छ ।
दुई फिल्ममध्ये शो संख्यामा ‘ककाकिकी’ अगाडि देखिन्छ । यसको देशव्यापी शो ८० माथि छ । ‘सारथी’ले ५० शो पाएको छ । तर, दुवै फिल्मको टिकट बुकिङ अपेक्षित देखिएको छैन । बिहानी शोमा अकुपेन्सी पनि कमजोर रह्यो । अब फिल्म हेरेका दर्शकबाट कस्तो प्रतिक्रिया प्राप्त हुन्छ, त्यसले दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता तथा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको ‘सारथी’ले सन्तानप्रति आमाको माया र समर्पणको कथा प्रस्तुत गरेको छ । फिल्ममा प्रेमकथा पनि छ । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको ‘ककाकिकी’ भने हास्यप्रधान विषयवस्तुमा निर्माण भएको हो । गाउँमा अस्पताल बनाउन गाउँलेले बैंक लुट्ने योजना बनाएको कथामा फिल्म आधारित छ ।

