काठमाडौं । भोलि शुक्रबार (११ मंसिर)बाट प्रदर्शन हुन लागेको फिल्म ‘सारथी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मार्मिक भावको गीतमा धनबहादुर गिरी (बाबुल)को स्वर तथा संगीत छ । फिल्मका निर्देशक कुमार गजुरेल र बाबुल स्वयंले गीतको शब्द लेखेका हुन् । कर्ममा खुसी नभएपछि आँसु नै साथी बनेको भावलाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू उत्तम प्रधान, निरुता सिंह, गिरी विश्वकर्मा र गायत्री जोशीलगायत देखिएका छन् । उनीहरूको अनुहारमा गहिरो पीडा झल्किएको छ । भिडियोले फिल्मको कथावस्तु र पात्रहरूबीचको भावनात्मक सम्बन्धलाई दर्शाउने प्रयास गरेको छ । फिल्ममा यो गीतलाई कथावाचनका रूपमा प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।
‘दर्पण छायाँ’का जोडी निरुता र उत्तमले झन्डै २२ वर्षपछि सहकार्य गरेको ‘सारथी’मा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।
सम्पादकको रूपमा परिचित तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्ममा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्मातामा छन् । कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन् । फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत छ । फिल्मको देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ ।

