
काठमाडौं । हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को समूहले निर्माण गरेको फिल्म ‘ककाकिकी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फरक शैलीको ट्रेलर र ‘धन चोरे पुलिस थुनामा’ गीतका कारण चर्चामा रहेको फिल्मको मंगलबार काठमाडौंमा प्रिमियर गरिएको छ । फिल्मकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको प्रिमियरमा फिल्मले सुखद प्रतिक्रिया पाएको छ ।
प्रिमियरमा उपस्थित अधिकांशले फिल्मको प्रस्तुतीकरण, कथावस्तु, कमेडी पक्ष र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको कथावाचन शैली र मेकिङमा गरेको मेहनतको प्रशंसा भएको थियो । फिल्म हेर्दा कमेडी संवादमा दर्शकको हाँसोले हल नै गुञ्जायमान बनेको थियो ।
प्रिमियरमा सहभागी कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राजाराम पौडेल, किरण केसी, विल्सन विक्रम राई, निर्देशक मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, गायक शिव परियार, अर्जुन सापकोटा, गायिका एलिना चौहानलगायतले फरकपन बोकेको फिल्म भन्दै प्रशंसा गरेका थिए । उनीहरूले दर्शकलाई फिल्म हेर्न आग्रह समेत गरे ।
निर्देशक बिक्की अग्रवालले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताए । अब फिल्म दर्शकलाई सुम्पिने समय आएको उल्लेख गर्दै उनले दर्शकले दिने राम्रा–नराम्रा जुनसुकै प्रतिक्रियालाई सहर्ष स्वीकार गर्ने बताए । फिल्मका कलाकारहरू तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए ।
श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्ममा शिशिर वाङ्देल, दीया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, विश्वास तिमल्सिना (बीटी कान्छा)लगायतका कलाकारको पनि अभिनय छ । फिल्म हास्यप्रधान विषयवस्तुमा निर्माण भएको हो ।

