
काठमाडौं । विकास सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’को छायांकन पोल्याण्डका आर्तुर जुराव्स्कीले गर्ने भएका छन् । एसियन तथा युरोपियन फिल्मका अनुभवी छायाँकार मानिने उनले दोस्रो पटक नेपाली फिल्म खिच्न लागेका हुन् । यसअघि विकासको डेब्यू फिल्म ‘सिरजरा : द सङ अफ ग्रान्ड मदर’को छायांकन पनि उनले नै गरेका थिए ।
उनी फिल्मको छायांकनका लागि नेपाल आइसकेका छन् । आइतबारदेखि फिल्मको टिमसँग वर्कसपमा समेत सहभागी भइरहेका छन् । पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली फिल्म उद्योगमा काम गरिसकेका उनले बलिउडका ‘सुल्तान’ र ‘मर्दानी’जस्ता व्यावसायिक रूपमा सफल फिल्मको छायांकन गरेका छन् ।
आर्तुरले पोलिस नेशनल फिल्म स्कूलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका हुन् । उनले छायांकन गरेका फिल्मले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनी आफैँ पनि बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेमाटोग्राफी मेन्टरका रूपमा आबद्ध भइसकेका छन् ।
मंसिर १५ गतेबाट छायांकन सुरु हुने ‘२६ करोड’मा प्रदीप खड्का र सारा आरएल शाहको मुख्य भूमिका रहनेछ । साराले यही फिल्मबाट डेब्यू गर्दैछिन् । ‘क्यान्सर सर्भाइभर’ रहेकी उनको बलिउड अभिनेता विवेक ओबेरोयले अभिभावकत्व सम्हाल्दै आएका छन् । गत असोजमा मुम्बईमा आयोजित एक कार्यक्रममा विवेक नै फिल्मको निर्माण घोषणा गरेका थिए ।
किङ्गडम नेटवर्क प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा संगीतकार सुभाष भुसाल निर्माताका रूपमा छन् । उनले यसअघि व्यावसायिक रूपमा सफल फिल्म ‘पूजार सार्की’ निर्माण गरेका थिए । फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुभाष भुसालको संगीत तथा हर्क साउदको शब्द रहनेछ । फिल्मको नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ ।

