Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिन्दुरे जात्रा’मा मैले नबोलेरै विद्रोह गरेकी छु : अञ्जना बराइली

फिल्मीखबर, काठमाडौं, 2026/11/24

anjana baraili

 

काठमाडौं । पछिल्लो समय सबैभन्दा धेरै हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन्, अञ्जना बराइली । डेब्यू फिल्म ‘महापुरुष’सहित उनका चारवटा फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसमध्ये उनको मुख्य भूमिका रहेको ‘पूर्णबहादुरको सारङ्गी’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने फिल्म हो । यस हिसाबले उनी कीर्तिमानी अभिनेत्री समेत हुन् । 

उनै अञ्जनाको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते प्रदर्शन हुँदैछ । रोचक संयोग के छ भने यसका निर्देशक सरोज पौडेल र मुख्य अभिनेता विजय बराल दुवै ‘पूर्णबहादुरको सारङ्गी’का हुन् । यसैले पनि यो फिल्म दर्शकका लागि विशेष बन्ने देखिन्छ । तर, गत साता सार्वजनिक टिजरले ‘पूर्णबहादुरको सारङ्गी’कै झल्को दिएपछि धेरैले यसलाई सिक्वेल फिल्म मानिरहेका छन् । 

तर, अञ्जनाका अनुसार फिल्मका कलाकार र निर्देशक ‘पूर्णबहादुरको सारङ्गी’का भए पनि कथा भने बिल्कुलै फरक छ । उनी भन्छिन्, ‘कलाकार, निर्देशक र केही प्राविधिक ‘पूर्णबहादुरको सारङ्गी’का भए पनि फिल्ममा थुप्रै कलाकार, निर्माता र प्राविधिक अरु नै छन् । यो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को कथासँग मिल्दै मिल्दैन । न त यो सिक्वेल हो ।’ 

उनका अनुसार ‘सिन्दुरे जात्रा’ महिलाप्रधान फिल्म हो । अहिलेको समयमा पनि महिलालाई नेपाली समाजले कसरी हेर्छ भन्ने कथा फिल्ममा रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ । महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ । न्यायाधीश बन्ने प्रयास वा कसैको पक्ष-विपक्षमा उभिएर कथा भनेका छैनौँ ।’

उनी फिल्ममा आफूले मौन विद्रोह गरेको बताउँछिन् । भन्छिन्, ‘पूर्णबहादुरको सारङ्गी’मा बाटुली पात्रले बोलेर विद्रोह गरेको थियो । यसपालि लक्ष्मीले नबोलेर विद्रोह गरेको छ । मेरो पात्रले महिलालाई हेर्ने समाजको दृष्टिकोणमाथि प्रश्न उठाउनेछ । त्यो हिसाबले फिल्मलाई लिएर म एकदमै आशावादी छु । फिल्म पनि राम्रो बनाउने कोसिस गरेका छौँ ।’

सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा अञ्जना र विजयसहित विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्कालगायतका कलाकारको अभिनय छ । सनेम महर्जन निर्माता रहेको फिल्ममा राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् ।