काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । नवरात्रिको अवसर पारेर बिहीबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मले महाभारतका पाँच पाण्डवलाई बिम्ब बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको ट्रेलरले संकेत गर्छ ।
स्वर्गलोकका युधिष्ठिर (हरिवंश आचार्य) धर्तिलोकमा आफ्ना भाइहरू भीम, अर्जुन, नहकुल र सहदेवलाई खोजिरहेका देखिन्छन् । तर, त्यसको उद्देश्य भने खुलाइएको छैन । ट्रेलरको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन्, जसको सुन्दरतामा युधिष्ठिर मोहित भएको देख्न सकिन्छ । ट्रेलरले फिल्ममा पौराणिक पात्रहरूलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छनक दिन्छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकारलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् भने नवीन श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन् ।
पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

