Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्ञानेन्द्र देउजा भन्छन्, ‘टिकट नकिनेकै कारण ‘झिँगेदाउ २’ फ्लप भयो’

फिल्मीखबर, काठमाडौं, 2026/10/15

fjan

 

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता आफैँले फिल्मको टिकट किन्ने प्रवृत्ति मौलाएको छ । शो राताम्मे देखाएर दर्शकलाई हलमा तान्न निर्माताले टिकटमै लाखौँ रुपैयाँ खन्याउने गरेका छन् । अवस्था कस्तोसम्म छ भने काठमाडौंको अनामनगर, पुतलीसडक, नयाँ बसपार्क, बागबजारलगायतका क्षेत्रमा नेपाली फिल्मका टिकट पसल−पसलमा निःशुल्क भेटिने गरेका छन् । 

निर्माता आफैँले टिकट किन्ने प्रवृत्तिका कारण नेपाली फिल्मको बजार ध्वस्त भइरहेको जानकारहरू बताउँछन् । बिहीबार चलचित्र पत्रकार संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक अन्तरक्रिया कार्यक्रममा निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले टिकट नकिनेकै कारण आफ्नो फिल्म ‘झिँगेदाउ २’ फ्लप भएको आशय व्यक्त गरे ।

फिल्म चलाउन तपाईं आफैँले टिकट किन्नुभएन भन्ने सहजकर्ता गोपीकृष्ण चापागाईंको प्रश्नमा उनले भने, ‘त्यही नकिनेकै कारण त फिल्म फ्लप भयो । नत्र चल्थ्यो कि !’ उनले निर्माता आफैँले टिकट किन्ने प्रवृत्तिका कारण पहिलो शुक्रबार र शनिबार हलमा फिल्म हेर्न दर्शक नै आउन छाडेको बताए । अहिले पूर्वदेखि पश्चिमसम्म दर्शकले निःशुल्क नेपाली फिल्म हेरिरहेको उनको दाबी छ । 

उनले भने, ‘अहिले टिकट किन्ने चक्र मेचीदेखि महाकालीसम्म पुगेको छ । नेपालगन्जमा पनि दर्शकले फ्रीमा फिल्म हेरिराखेका छन् । इलाममा पनि फ्री टिकटमा दर्शकले फिल्म हेर्छन् । यही अवस्था रहे अबको एक वर्षमा इन्डस्ट्री नै बन्द हुन्छ ।’ दर्शक स्वतःस्फूर्त रूपमा हलमा आउने वातावरण बनाउन निर्माताले आफैँ टिकट किन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको बुझाइ छ ।

कार्यक्रममा वक्ताको रूपमा उपस्थित भएका ‘कबड्डी ५’का निर्देशक रामबाबु गुरुङले पनि टिकट किन्ने प्रवृत्ति फिल्म क्षेत्रका लागि हानिकार रहेको बताए । उनले भने, ‘केही विशेष व्यक्तिलाई फिल्म देखाउन प्रोडक्सन हाउसले सीमित टिकट किन्नु सामान्य हो । तर, अहिले जसरी बजारमा सुनिन्छ, त्यो चाहिँ विकृति हो । मबाट चाहिँ त्यो कहिल्यै हुँदैन ।’

कार्यक्रमकी अर्की वक्ता अभिनेत्री रेखा थापाले आफूबाट टिकट किन्ने काम कहिल्यै पनि नहुने स्पष्ट पारिन् । उनले भनिन्, ‘केही वर्षअघिसम्म मलाई टिकट किन्ने भन्ने नै थाहा थिएन । ‘उपहार’को बेला चाहिँ वितरकबाट त्यो कुरा आएको थियो । तर, म स्पष्ट भन्न चाहन्छु कि यदि मैले टिकट नकाटेर फिल्म चल्दैन भने नचलोस् । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

त्यस्तै, निर्देशक दीपेन्द्र लामाले निर्माता आफैँले टिकट किन्ने प्रवृत्ति धेरै अगाडिदेखि रहेको स्मरण गरे । उनले भने, ‘५७−५८ सालतिर विश्वज्योतिमा ‘होल्डओभर’ टिकाउनुपर्ने बाध्यता थियो । २५ प्रतिशत दर्शक भएनन् भने फिल्म नै उत्रिन्थ्यो । त्यसका लागि निर्माता आफैँले टिकट काट्थे । अहिले चाहिँ त्यो एकदमै विकृतिको रुपमा आएको छ, जुन गलत हो ।’