.jpg)
अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ले बक्स अफिसमा आफ्नो व्यापार उकास्ने प्रयास गरिरहेको छ । शुक्रबार र शनिबार औसत अकुपेन्सी हासिल गरेको फिल्मले दर्शकबाट भने सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनय मन पराएका छन् । विशेषगरी फिल्मको क्लाइमेक्स बढी रुचाइएको छ ।
जातीय विभेद अन्त्य हुन नसक्दा अझै पनि मानिसहरू कसरी अकालमा ज्यान गुमाउन बाध्य छन् भन्ने यथार्थलाई फिल्मले सशक्त ढंगमा प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया छ । फिल्ममा सामाजिक कथासँगै मनोरञ्जन पनि भरपूर रहेको उनीहरूको धारणा छ । कतिपयले फिल्मको प्रस्तुति र विषयवस्तु विदेशी फिल्मभन्दा कम नभएको समेत बताए ।
फिल्म प्रदर्शनमा आएदेखि अभिनेता प्रभात पाल ठकुरी काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । उनले दर्शकको प्रतिक्रियाबाट आफू उत्साहित रहेको बताए । उनले भने, ‘मैले सोचेको पनि थिइनँ, यस्तो राम्रो प्रतिक्रिया आउँछ भन्ने । फिल्म हेर्दा दर्शकहरू भावुक हुनुभएको देख्दा नराम्रो त लाग्छ, तर त्यो ‘फिल’ गराउन सकेकोमा खुसी पनि लाग्छ ।’
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’मा प्रभातसहित ऋचा शर्मा, नीति शाह, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन (खबपु), सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, सुन्दर धिताललगायतको अभिनय रहेको छ । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेलले फिल्मको निर्माण गरेका हुन् ।

