Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफूलाई निकालेको फिल्मसँग भिड्दै ‘बले’

फिल्मीखबर, काठमाडौं, 2026/09/25

sagar lamsal

 

गत चैतमा अभिनेता सागर लम्साल (बले)माथि एउटा गम्भीर आरोप लाग्यो । अमेरिका बस्ने एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसलगत्तै उनलाई छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’बाट निकालिएको थियो । जबकि, उनको १० दिनको छायांकन समेत भइसकेको थियो । उनलाई हटाएर निर्माताले फिल्म पुनः छायांकन गरेका थिए । 

फिल्मबाट आफूलाई निकालेपछि यसका निर्मातासँग असन्तुष्ट रहेका सागर अब ‘पाँच पाण्डव’सँग बक्स अफिसमा भिड्ने भएका छन् । बिहीबार यो फिल्मले तिहारलाई लक्षित गर्दै कात्तिक २० गतेलाई प्रदर्शन मिति तय गरेको थियो । त्यसको करिब दुई घन्टापछि सागरले आफ्नो मुख्य भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’लाई पनि सोही मितिलाई ल्याउने घोषणा गरे । 

राजु गिरीको निर्देशनमा बनेको यो फिल्म गत वर्षको चैत २७ गते प्रदर्शन हुने तयारीमा थियो । तर, सागर बलात्कारको आरोपमा पक्राउ परेपछि फिल्मको प्रदर्शन स्थगित गरियो । बिहीबार ‘पाँच पाण्डव’ले प्रदर्शन मिति तय गरेपछि सागरकै दबाबमा निर्माताले ‘डल्लेले इन्ट्री मार्‍यो’लाई कात्तिक २० गते प्रदर्शन गर्ने निधो गरेको जनाइएको छ ।

यो फिल्ममा सागरले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक लिएको बताइन्छ । उनलाई २०८१ सालमा फिल्ममा अनुबन्धित गरेपछि निर्देशक गिरीले पारिश्रमिकबारे खुलासा गरेका थिए । उनका अनुसार सागरलाई पारिश्रमिकबापत ३५ लाख रुपैयाँ दिइएको छ । यो फिल्ममार्फत उनी पहिलो पटक मुख्य भूमिकामा समेत देखिएका छन् । यसअघि उनी सहायक भूमिकामा सीमित थिए । 

पत्रकार लक्ष्मण सुवेदीको पटकथा तथा संवाद रहेको फिल्ममा सागरसहित रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, रविन्द्र झा, कैलाश रावत, विशाल पहाडी, सावित्रा चिलुवाल, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय छ । फिल्मका निर्माताहरूमा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी रहेका छन् ।