
आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक गरिएको छ । गण्डकी क्षेत्रमा प्रचलित कौडा शैलीको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा सुरेन्द्र रानाको शब्द रचना छ । गायक योगी स्वयंको संगीत रहेको गीतका संगीत निर्माता रिकेश गुरुङ हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य जोडी उपासना सिंह ठकुरी र सोनम तोप्देन मगर समुदायको पहिरनमा देखिएका छन् । भिडियोमा उनीहरूबीचको प्रेमभावलाई देखाइएको छ । सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका कलाकारहरू अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगरलगायत पनि प्रस्तुत छन् ।
अशोक थापा मगरको निर्देशनमा बनेको यस फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुनलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा क्याप्टेन विजय लामा विशेष भूमिकामा छन् ।
एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा बेताने मगर (बबिता राना), ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । निर्देशक मगर स्वयंको लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन तथा सरित रयान र एसडी योगीको संगीत छ ।

