Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘बाः एक योद्धा’लाई भनियो ‘उत्कृष्ट फिल्म’

फिल्मीखबर, काठमाडौं, 2026/09/23

ba ek yodha (2)

 

यही शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका विभिन्न क्षेत्रका व्यक्तिले कथावस्तु, कलाकारको अभिनय, छायांकन र संगीत पक्षको मुक्तकण्ठले प्रशंसा गरे । 

प्रिमियरमा पुगेका अभिनेता हरिवंश आचार्यले फिल्मले आफूलाई भावुक बनाएको बताए । उनले भने, ‘फिल्म हेरेर मलाई रुन मन लाग्यो । छोरा मान्छे सितिमिति रुँदैनन् तर मनमनै धेरै रोएँ ।’ फिल्मले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको उनले बताए ।

पूर्वगृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्यालले ‘बा: एक योद्धा’लाई उत्कृष्ट फिल्मका रूपमा ब्याख्या गरे । उनले फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश आफूलाई प्रभावकारी लागेको बताए । ‘हामी नेपालीको जुन किसिमको जनजीवन छ, त्यसलाई फिल्मले समेटेको छ । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,’ उनले भने ।

 

ba ek yodha (3)


त्यस्तै, अभिनेत्री ऋचा शर्माले फिल्म ‘एकदमै मिठो’ लागेको बताइन् । उनले दिव्य देवको अभिनयको प्रशंसा गर्दै उनलाई ‘बाः एक योद्धा’को सुपरस्टारको संज्ञा दिइन् । उनले भनिन्, ‘यो फिल्मको सुपरस्टार भनेको दिव्यदेव पन्त हो । उहाँलाई फिल्मले आफ्नो अभिनय क्षमता देखाउने एकदमै राम्रो अवसर दिएको छ । मलाई उहाँजस्तो कलाकारले सफलताको शिखर चुम्नुपर्छ भन्ने लाग्छ ।’

कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पा थिङ लामाले पनि ‘बा: एक योद्धा’ले आफूलाई भावुक बनाएको बताइन् । ‘फिल्मले मलाई धेरै ठाउँमा रुवायो । अझ विशेषगरी दिव्यदेवको ‘तिम्रो एक खिल्ली चुरोटले मलाई ऋणी बनायो’ भन्ने संवादले निकै छोयो । दिव्यदेवले बुवाको भूमिकामा गर्नुभएको अभिनय त झन् असाधारण छ,’ उनले भनिन् । 

 

suhana thapa


हरि लम्सालको निर्देशन तथा वसन्त लम्सालको लगानीमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले सन्तानका लागि बाबुले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ ।