.jpeg)
अभिनेता निखिल उप्रेतीले ९ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘आचार्य’ शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । निरन्तरको झरीले फिल्मको ओपनिङमा ठूलो असर गरेको भए पनि दुई दिनको व्यापार सन्तोषजनक नै देखिएको छ । दुई दिनमा फिल्मले ५० लाखमाथि व्यापार गरेको अनुमान छ । तर, फिल्मले दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ ।
निखिलले ‘आचार्य’बाट दर्शकलाई दुईवटा सरप्राइज समेत दिएका छन् । एउटा, निखिलको दोहोरो भूमिका । फिल्म क्लाइमेक्सको संघारमा पुग्दा उनी प्रहरीको भेषमा भैरव पात्रको भूमिकामा देखिएका छन् । उक्त दृश्यमा दुई निखिललाई दर्शकले एउटै फ्रेममा देख्नेछन् । यसबाट उनले आफ्नो नयाँ फिल्म ‘भैरव २’ हुने संकेत गरेको देखिन्छ ।
दोस्रो सरप्राइज ‘आचार्य’को सिक्वेल घोषणा हो । फिल्मलाई ‘टू बी कन्टिन्यु’ (जारी रहनेछ) भन्दै बिट मारिएको छ । त्यसअघि निखिलको एउटा संवाद छ, ‘हामीले जुन कथा अब सकियो भन्ने ठान्छौं, त्यहीँबाट अर्को कथा सुरु हुन्छ ।’ यसपछि भिलेन पात्रले निखिलसँग बदला लिने अठोट गरेको देखिन्छ । यसले फिल्मको दोस्रो भाग पूर्ण रूपमा बदलामा केन्द्रित हुने संकेत गर्छ ।
तर, नेपालमा पोस्ट क्रेडिटमार्फत सिक्वेल घोषणा भएका कुनै पनि फिल्म व्यावसायिक रूपमा सफल छैनन् । ‘राम नाम सत्य’, ‘चित्रा’, ‘हात्तीछाप’, ‘नरसिंहा अवतार’, ‘समर लभ’ जस्ता फिल्म यसका उदाहरण हुन् । अब ‘आचार्य’को हकमा के हुन्छ, त्यो हेर्न बाँकी छ । निखिलले भने फिल्म सफल हुने विश्वासमा नै दोस्रो भाग घोषणा गरेको देखिन्छ ।

