.jpg)
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (चक्रवात अर्नब)को प्रभावले बुधबारदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । पानीले देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित हुँदा त्यसको असर नेपाली फिल्मलाई समेत परेको छ । हलमा प्रदर्शन भइरहेका फिल्ममा दर्शकको उपस्थिति निकै न्यून देखिएको छ ।
यस्तोमा शुक्रबार (आज)बाट हलमा तीन नयाँ फिल्म ‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’ एकसाथ प्रदर्शनमा आएका छन् । झरीका कारण तीनवटै फिल्मको बिहानी शोमा औसत अकुपेन्सी देखिएको छ । तुलनात्मक रूपमा ‘आचार्य’को अकुपेन्सी भने केही सुखद देखिन्छ । तीन फिल्ममध्ये शो संख्यामा पनि यही फिल्म अगाडि छ । यसले देशभर झन्डै एक सय शो पाएको छ ।
एक्सन जनरामा निर्माण भएको ‘आचार्य’लाई निखिल उप्रेतीले निर्देशन गरेका हुन् । यो उनको ९ वर्षपछिको निर्देशकीय कमब्याक हो । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने पूर्णिका सिंजापति, सजिना श्रेष्ठ, प्रमोद अग्रहरी, ध्रुव कोइराला, भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु, रघू कारुमन्चीलगायतको पनि अभिनय छ । कृष्ण भट्टराईले फिल्मको निर्माण गरेका हुन् ।
यस्तै, संगीतकार हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले सन्तानका लागि बाबुले गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारहरूको अभिनय छ । फिल्मका निर्माता वसन्त लम्साल हुन् ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ भने अन्तरजातीय प्रेमकथामा आधारित छ । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन (खबपु), सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्कीलगायतको अभिनय छ ।

