असोज २ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ २’ले व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा पनि फिल्मले पहिलो साता अपेक्षित व्यापार गर्न सकेन । यद्यपि, ‘वर्ड अफ माउथ’ले फिल्मलाई व्यावसायिक सफलता दिलाउनेमा निर्माण पक्ष अझै आशावादी छ ।
यसैबीच, फिल्म रिलिजको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको यस गीतमा कुशल बेलबासेको स्वर छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको हो । गीतले सन्तानप्रति आमाको निस्वार्थ मायालाई दर्शाउँदै आमालाई भगवानको जिउँदो अवतारका रूपमा चित्रण गरेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।

