.jpeg)
निरन्तरको झरीका बीच शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ले बक्स अफिसमा अपेक्षित ओपनिङ गर्न सकेन । शनिबार समेत फिल्मको अकुपेन्सी औसत रह्यो । तर, फिल्मलाई दर्शकीय प्रतिक्रिया भने उत्साहजनक देखिन्छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू हलबाट रुँदै समेत निस्किएका छन् ।
हरेक अभिभावकले आफ्ना सन्तानलाई ‘बा: एक योद्धा’ देखाउनुपर्ने दर्शकहरूको प्रतिक्रिया छ । आफ्नो अधिकार खोज्ने तर दायित्व बिर्सने सन्तानका लागि यो फिल्म नैतिक शिक्षा बन्ने उनीहरूको धारणा छ । बुवाआमादेखि टाढा बसेका सन्तानलाई समेत फिल्म हेर्न दर्शकहरूले आग्रह गरेका छन् । कतिपयले बुवाको कथामा बनेको अहिलेसम्मकै उत्कृष्ट फिल्म समेत भनेका छन् ।
फिल्म प्रदर्शन भएदेखि कलाकारहरू दिव्यदेव र सुहाना थापा काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । उनीहरू हलमा पुग्दा फिल्म हेरेर रोएका दर्शकले अंकमाल गर्दै आफ्नो भावना पोख्ने गरेका छन् । शनिबार सुन्धारास्थित सिभिल मलमा यस्तै दृश्य देखिएको थियो, जहाँ १०-१२ वर्षकी बालिका सुहानालाई देखेपछि भक्कानिएर रोएकी थिइन् ।
शनिबार फिल्म हेर्न पुगेका निर्माता सन्तोष सेनले पनि ‘बा: एक योद्धा’को खुलेर प्रशंसा गरे । उनले भने, ‘म पनि एक बाबु हुँ । यो फिल्म त मेरो छोराहरूले पनि हेर्नुपर्छ । मैले अहिलेसम्म हेरेका नेपाली पारिवारिक फिल्ममध्ये यो सबैभन्दा उत्कृष्ट लाग्यो । दिव्यदेव पन्तले निभाउनुभएको पात्रमा त मैले आफ्नै बुवा देखेँ । उहाँको काम साँच्चै उत्कृष्ट छ ।’
संगीतकार हरि लम्सालको निर्देशनमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतको अभिनय रहेको छ । फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्मातामा छन् । फिल्मले सन्तानका लागि एक बाबुले गरेको संघर्षको कथा पेस गरेको छ ।

