.jpeg)
‘गोर्खा पल्टन’ र ‘परदेशी’का निर्देशक नारायण रायमाझी तीन वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘बसन्ती’को शुक्रबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण घोषणा गरिएको छ । असोज ३ गते शनिबारबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक रायमाझी स्वयंले निर्माण गर्नेछन् ।
काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा छायांकन हुने फिल्ममा खेम सेन्चुरी र टेरिया फौजा मगरको मुख्य भूमिका रहनेछ । संगीतकार तथा गायक खेमले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । टेरियाको भने यो दोस्रो फिल्म हुनेछ । उनले यसै वर्ष प्रदर्शन भएको फिल्म ‘मितज्यू’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् ।
रिमा फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा सिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्मको कथा लोक गायक तथा गीतकार रमेश बिजीले लेखेका हुन् । उनले यसअघि ‘परदेशी’का दुई श्रृंखला लेखेका थिए ।
शिव ढकालको छायांकन रहने फिल्ममा बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रमेश बिजी, लालगोपाल सुवेदी, बीबी अनुरागी र नारायण रायमाझीको शब्द, नहकुल खड्काको सम्पादन, दिनेश विष्टको भिएफएक्स तथा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी रहनेछ । फिल्मले गाउँकी एक युवतीको अभिनेत्री बन्ने सपनाको कथा पेस गर्ने जनाइएको छ ।

