Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा तीन फिल्म, शो संख्यामा ‘झिँगेदाउ २’ अगाडि

फिल्मीखबर, काठमाडौं, 2026/09/18

three movie

 

यो साता दर्शकले आफ्नो रुचिअनुसार रोजीछानी फिल्म हेर्न पाउनेछन् । किनकि, शुक्रबारबाट फरक−फरक विषयवस्तुमा बनेका तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । ती हुन्, ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो’ । यीमध्ये ‘झिँगेदाउ २’ सिक्वेल फिल्म हो । यसैले अन्य दुई फिल्मभन्दा यसको शो संख्या बढी देखिन्छ ।

देशव्यापी डेढ सयभन्दा बढी शो प्राप्त गरेको ‘झिँगेदाउ २’ले पारिवारिक सम्बन्धको कथा पेस गरेको छ । दाजुभाइ र जेठानी−देउरानीबीचको झगडालाई केन्द्रमा राखेर फिल्मले आमाको महत्त्वलाई दर्शाएको छ । फिल्मको टिजर–ट्रेलर र तीज ब्याटल गीत ‘धागो छिन्यो चर्खाको’ले राम्रो चर्चा बटुलेका कारण त्यसको प्रभाव बक्स अफिसमा देखिने अपेक्षा गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, सरोज खनाल, हिउँवाला गौतम, संगम भण्डारी, अयभराज बराल, विजय देउजालगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले लगानी गरेका छन् ।

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको ‘कार्की साइँला’ भने भरियाको संघर्षको कथामा आधारित भएर निर्माण भएको हो । यसमा जितुको जोडी प्रियना आचार्य (मुन्नी)सँग बाँधिएको छ । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्ममा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङलगायतका कलाकारहरूको पनि अभिनय छ । फिल्मका निर्माता बालकुमार राई हुन् ।

त्यस्तै, प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो’मा सोनाल लामा र कस्मता निरौलाको शीर्ष भूमिका रहेको छ । उनीहरू दुवैको यो डेब्यू फिल्म हो । नेपालसहित बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा छायांकन गरिएको फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा बहादुर सिंह तामाङ निर्मातामा छन् ।